मनसुन अझै केही दिन सक्रिय रहने
This image depicts the rain in Asia. Image: Nepal Weather Forecast Twitter
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले गत बिहीबारदेखि सक्रिय रहेको मनसुन अझै केही दिनसम्म कायम रहने भएको छ ।
मनसुन न्यूनचापीय प्रणाली तराई भूभाग नजीकै रहेकाले थप सक्रिय भएको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । आज बेलुकाबाट मौसमी प्रणाली बिस्तारै दक्षिणतिर सर्ने क्रममा रहेको छ ।
न्यूनचापीय प्रणाली नेपालबाट हटे पनि मनसुनकै समय भएकाले वर्षा भने भइरहने मौसमविद् प्रधानाङ्गले बताउनुभयो । यस वर्ष मनसुनको समयमा औसत वर्षा हुने अनुमान गरिएको छ ।
हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा वाग्मती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । यसका साथै प्रदेश १ र २ का एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ ।
प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै स्थानहरुमा र गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।।























