वर्षमा करिव २० लाख स्मार्टफोन आयात हुने
काठमाडौं । नेपालको आयात व्यापार गत वर्षको भन्दा बढदैछ। आयात व्यापार बढदा भन्सार राजस्व संकलन पनि केही बढन पुगेको छ।
विगत तीन वर्षदेखि सरकारको राजस्व संकलनको आम्दानी घटदा विकास निर्माणका काममा सुस्तता आएको छ।
आन्तरिक राजस्व संकलनले तीन तहका सरकारहरूको साधारण खर्च पनि धान्न सक्दैन। मुलुकको साधारण खर्च धान्न महंगो ब्याजमा आन्तरिक ऋण उठाउनु पर्ने अवस्था छ।
आयात व्यापार बढेसँगै सुचना प्रविधि र सञ्चार क्षेत्रमा पनि आयात बढेको पाइन्छ। नेपालमा स्मार्टफोन,मोवाइल,हेडफोन र मोवाइलको ब्याट्रीको आयात बर्सेनि बढदै गएको छ।
नेपालको जनसंख्या करिव तीन करोड छ। त्यसमा पनि ६५(७० लाख नेपाली विदेशमा कार्यरत छन। तर नेपालमा बर्सेनि स्मार्ट मोवाइल करिव २० लाख थान आयात हुने गरेको छ। त्यस्तै हेडफोन र मोबाइल ब्याट्रीको आयात पनि बढी रहेको छ।
गत आर्थिक वर्ष २०८०र८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब साढे ३१ अर्ब रूपैयाँ बाहिरिएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन रहेको छ ।
गत आर्थिक वर्षमा स्मार्टफोन आयातमा मात्र २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार बराबर बाहिरिएको छ । यस अवधिमा १८ लाख ३९ हजार ३५ सेट स्मार्टफोन नेपाल भित्रिएका छन् ।
स्मार्टफोनको आयात सरकारले पाँच अर्ब ३३ करोड ९४ लाख रूपैयाँ बराबर भन्सार राजस्व उठाएको पनि विभागको तथ्याङ्कबाट देखिन्छ । गत आर्थिक वर्षमा एक अर्ब ४२ करोड ९० लाख ८५ हजार रूपैयाँ बराबरको १७ लाख ५८ हजार छ सय ९० सेट टेलिफोन आयात भएका छन् ।
त्यस्तै, हेडफोन आयातमा मात्र ६५ करोड ९३ लाख २८ हजार रूपैयाँ विदेशिएको छ । गत एक वर्षमा २९ लाख ९६ हजार दुई सय २९ वटा हेडफोन आयात गर्दा सरकारले २१ करोड नौ लाख २३ हजार रूपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्षमा मोबाइल ५० करोड ७१ लाख ६३ हजार रूपैयाँ बराबरको ४३ लाख ८२ हजार आठ सय ३९ वटा चार्जर आयात भएको छ ।
चार्जर आयातबाट मात्र १५ करोड ५७ लाख १० हजार राजस्व संकलन भएको छ । गत आर्थिक वर्षमा ३५ करोड ५१ लाख ४८ हजार रूपैयाँ बराबरको दुई लाख ३९ हजार छ सय ६९ वटा स्मार्टवाच आयात भएको भन्सार विभाग स्रोतले बताएको छ ।























