stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

पर्सा । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ ।

साथै उक्त कार्यालयले आर्थिकमन्दीको कारणले बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६० दशमलव ७२ प्रतिशत राजस्व सङ्कलन गरेको जनाएको छ ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख डा रामप्रसाद मैनालीले चालु आर्थिक वर्षमा समग्र बजार सुस्ताएकाले अपेक्षाकृत रुपमा राजस्व सङ्कलन हुन नसकेको बताए ।

“अहिले समग्र मुलुकको बजार सुस्ताएको छ”, उनले भने, “माग कम भएपछि आयात पनि स्वतः घट्ने भयो ।”

भन्सार विभागले कार्यालयलाई चालु आवको १० महिनाको अवधिमा रु ५४ अर्ब २७ करोड २१ लख ३५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियोभने कार्यालयले १० महिनाको अवधिमा भने रु ४० अर्ब तीन करोड सङ्कलन गरेको छ ।

प्रमुख भन्सार अधिकृत मैनालीका अनुसार सुक्खा बन्दरगाहमा सबै सामान कार्गो रेलबाट ढुवानी हुनेगरेको छ । विगतमा दैनिक तीन वटा कार्गो रेलबाट मालसमान आउने गरेकामा हाल दुई वटाबाट आउने गरेको छ । कार्गो रेलले एक पटकमा ६० वटा कन्टेनर ल्याउने गरेको छ ।

भन्सार विभागले कार्यालयलाई चालु आवमा रु ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिदिएको भए तापनि कार्यालयले भने चालु आवमा लक्ष्यको ७० प्रतिशतको हाराहारीमा मात्रै राजस्व सङ्कलन हुने जनाइएको छ ।

प्रमुख भन्सार अधिकृत मैनालीले चालु आवमा आइरन ब्लेड र मदिराजन्य पदार्थको आयात कम भएकाले पनि राजस्व सङ्कलनमा घटेको बताए ।

“यहाँ विशेष गरी औद्योगिक कच्चा पदार्थ आयात हुने गर्छ तर विगतको तुलनमा यो वर्ष औद्योगिक कच्चापदार्थ आयात हुन भएको छैन”, उनले भने, “गर्मी याम सुरु हुँदा पनि एसी र छाताजस्ता सामानको आयात बढेको छैन, विगतमा यो सिजनमा एसी र छाताको आयात धेरै हुने गर्थ्यो यो वर्ष एसी र छाताको पनि आयात पनि बढ्न सकेको छैन ।”

कार्यालयले चालु आवको साउन महिनामा रु चार अर्ब सात करोड राजस्व सङ्कलन गर्‍यो । भदौ महिनामा रु चार अर्ब ५७ करोड र असोज महिनामा रु चार अर्ब ४६ करोड राजस्व सङ्कलन गरेको थियो ।

उक्त कार्यालयले कात्तिक महिनामा रु तीन अर्ब ६३ करोड, मङ्सिर महिनामा रु चार अर्ब २८ करोड, पुस महिनामा रु तीन अर्ब ७५ करोड राजस्व सङ्कलन गर्‍यो । कार्यालयले माघ महिनामा रु तीन अर्ब ७४ करोड, फागुन महिनामा रु तीन अर्ब ६२ करोड, चैत महिनामा चार अर्ब २८ करोड र वैशाख महिनामा रु तीन अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको जनाएको छ ।

भन्सार विभागले कार्यालयलाई गत आवमा रु ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो तर उक्त कार्यालयले रु ४२ अर्ब ४० करोड २२ लाख ९३ हजार मात्र सङ्कलन गरेको थियो ।

prabhu mahalaxmi
kumari