stcnepal long ad
global ime bank long

साताको पहिलो दिन आइतबार स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम

सुनको मूल्य एक लाख पैँतिस हजार नाघ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। साताको पहिलो दिन आइतबार स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । एक महिनादेखि लगातार बढ्दै गएको सुनको मूल्यले आइतबार पुनः नयाँ रेकर्ड कायम गरेको हो ।

एकै दिन तोलामा दुई हजार नौ सय रुपियाँले बढेर प्रतितोला एक लाख ३५ हजार छ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत बिहीबार एक लाख ३४ हजार रुपियाँ पुगेको सुनको मूल्य शुक्रबार घटेर एक लाख ३३ हजार रुपियाँमा पुगेको थियो ।

आइतबार आएर पुनः बढेर एक लाख ३५ हजार छ सय रुपियाँमा पुुगेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्ने गर्छ ।

महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा भएको मुद्रास्फीतिका कारणले सुनको मूल्य एक्कासि बढ्न गएको जानकारी दिनुभयो ।

एक महिनादेखि निरन्तर सुनको मूल्य बढ्दै गएकाले आगामी दिनमा थप मूल्य बढ्ने देखिएको उहाँले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय बजारमा डलर बलियो हुँदा सुनको मूल्य घट्नुपर्ने भए पनि लगातार मूल्य बढ्दै गयो, उहाँले भन्नुभयो, विश्व बजारमा केन्द्रीय बैङ्कहरूले क्रयशक्ति बचाउन सुनको रिजर्भ बढाएका कारणले गर्दा पनि मूल्य बढ्न गएको देखिन्छ ।” सुरक्षित लगानीको क्षेत्र सुन मानिएकाले पनि लगानीकर्ता आकर्षित भई लगानी बढाउँदै गएपछि मूल्य निरन्तर बढ्दै गएको उहाँको भनाइ छ ।

छिमेकी मुलुक भारत र चीनले समेत सुनको खरिद बढाउँदै गएको उहाँको भनाइ छ । एक महिनाअघिदेखि सुनको मूल्य निरन्तर बढ्दै गएको छ, अन्तर्राष्ट्रिय बजार हेर्दा सुनको मूल्य अझै बढेर एक लाख ५० हजार रुपियाँसम्म पुग्ने अनुमान गरिएको शाक्यको भनाइ छ । लगातार मूल्य बढ्दै गएपछि सुनचाँदीको कारोबार ठप्प अवस्थामा छ ।

चैत महिना लगनको सिजन नभएको र मूल्य निरन्तर बढेकाले बजारमा माग नहुँदा कारोबार न्यून अवस्थामा रहेको व्यवसायीको भनाइ छ । हाल दैनिक पाँचदेखि १० किलो सुनको कारोबार हुने गरेको छ । वैशाख महिनामा लगन कम रहेकाले सुनको कारोबार बढ्ने नदेखिएको व्यवसायीको भनाइ छ ।

उपभोक्ताको क्रयशक्ति कम हुनु र लगातार मूल्य बढ्दै गएकाले सुनचाँदीको कारोबारमा प्रत्यक्ष प्रभाव पारेको छ । आर्थिक मन्दीको प्रभावका कारणले गर्दा सहरी क्षेत्रका सुनचाँदी पसल चले पनि ग्रामीण क्षेत्रका बन्द हुन थालेको व्यवसायीको भनाइ छ ।

यसैबिच चाँदीको मूल्यसमेत बढेको छ । गत शुक्रबार प्रतितोला एक हजार ६१५ रुपियाँमा कारोबार भएको सुनको मूल्य आइतबार तोलामा ५५ रुपियाँले बढेर एक हजार ६७० रुपियाँमा कारोबार भएको छ ।

चैतको महिना सुरु भएदेखि चाँदीको मूल्यसमेत निरन्तर बढ्दै गएको छ । एक महिनाको अवधिमा चाँदीको मूल्य तोलामा १५५ रुपियाँले बढेको छ ।

IME Lifesidebar
kumari