सुनको मूल्यले रेकर्ड ब्रेक गर्दै जाने प्रक्षेपण
काठमाडौं । यो साता विश्व बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । साताको पहिलो दिनदेखि मूल्य निरन्तर बढेको हो । यो वर्ष सुनको मूल्य थप बढ्न सक्ने विश्लेषकहरुको अनुमान छ । नेपाली बजारमा पनि यो साता सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ साताको पहिलो दिनदेखि निरन्तर बढेको हो । भाउ शुक्रबारसम्म बढेर प्रति १० ग्राम १ लाख २ हजार ४५० रुपैयाँ पुगेको छ ।यो साता नेपाली बजारमा चाँदीको मूल्य भने सामान्य बढेको छ ।
साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार २०० रुपैयाँ रहेको चाँदीको मूल्य साताको तेस्रो र चौथो दिन प्रति १० ग्राम १ हजार २१७ रुपैयाँ ५० पैसा पुगेर थियो । शुक्रबार भने प्रति १० ग्राम १ हजार २१३ रुपैयाँ कायम भएको छ ।
सुनलाई लगानीको सुरक्षित क्षेत्र मानिन्छ । अन्य क्षेत्रमा जोखिम लिन नचाहनेले पनि सुन किनेर सञ्चय गर्छन् । यसकारण पनि विश्व बजारमा सुनको माग बढिरहेको विश्लेषकहरुले उल्लेख गरेका छन् ।
यस्त, विश्वमा हिंसा, अशान्ति फैलिएमा वा फैलिन सक्ने खतरा बढेमा पनि अन्तर्राष्ट्रिय लगानीकर्ताहरु सुनतर्फ नै आकर्षित हुन्छन् । यसबाट पनि माग बढ्न जान्छ । माग बढेपछि मूल्य पनि बढ्ने सामान्य सिद्धान्त नै हो । विश्व बजारमा सुन, पेट्रोलियम पदार्थ तथा सेयर बजारलाई लगानीका प्रतिस्पर्धी क्षेत्र मानिन्छ ।
अन्य क्षेत्रमा समस्या आउँदा पनि सुनकै माग बढ्ने गर्छ । यसैकारण पछिल्ला वर्षहरुमा निरन्तरजसो सुनको मूल्य आकासिरहेको छ । गहना बनाउन पनि सुनको प्रयोग हुन्छ ।यता, स्थानीय बजारमा पनि सुनको माग बढ्दो छ । विश्व बजारमा कायम हुने मूल्यले यहाँ प्रत्यक्ष प्रभाव पार्छ ।























