काठमाडौंसहित देशभर चिसो बढ्यो, काठमाडौंमा आजको न्यूनतम तापक्रम ३ डिग्री
काठमाडौं । काठमाडौं उपत्यकामा आज यो सिजनको सबैभन्दा कम तापक्रम मापन भएको छ ।आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो तापक्रम यो वर्षको जाडो सिजनको अहिलेसम्मकै सबैभन्दा कम रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनु भयो । यसअघि गएको सोमवार काठमाडौंको न्यूनतम तापक्रम तीन दशमलव २ डिग्री मापन गरिएको थियो ।
आज दिउँसो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सियस पुग्न सक्ने महाशाखाले जनाएको छ ।
काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपात भएका कारण चिसो बढेको हो ।
आज जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ४, डडेलधुराको १ दशमलव ७ डिग्री, दीयापलको शून्य दशमलव ८ र धनगढीको १ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।
























