stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

तस्करीको अखड़ा बन्दै सिरहा, तस्करीका सामान रोक्न स्थानीयको सक्रियता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

सिरहा । पछिल्लो समय सिरहा तस्करीको अखड़ा बन्दै गएको छ । सिरहाको विभिन्न नाकाहरु मध्ये ठाडी भन्सार तर्फबाट व्यापक रुपमा तस्करी हुन थालेपछि स्थानीयहरु विरोधमा उत्रिएका छन् ।

भन्सार छलीका समान लिएर अवैध रुपमा नेपाल भित्रिदै गरेको ज १ च १९३० नम्बरको पिकअप गाडीलाई धनगढीमाई नगरपालिका–१० का स्थानीयले नियन्त्रणमा लिएका छन् ।

आफूहरुले प्रमाणसहित सिरहा प्रहरीलाई पटक पटक तस्करीबारे सूचना दिएपनि सो सूचनालाई वेवास्ता गरेपछि आफूहरु बाध्य भएर तस्करीका मालसमान बोकेका पिकअप गाड़ीलाई नियन्त्रण लिनुपरेको स्थानीयको भनाइ छ ।

यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डीएसपी) रबिन्द्र राज पाण्डेका अनुसार सिरहाको धनगढीमाई नगरपलिका–१० स्थितबाट ईलाका प्रहरी कार्यालय धनगढ़ीले गत आइतवार १५ लाख बढ़ी मूल्य बराबरका अवैध रुपमा भित्र्याइएका लत्ताकपड़ा सहितको पिकअप गाडी र सोही पालिकाको वडा नम्बर –९ स्थित चैनपुर घर भएका उतिमलाल राउत समेतलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभएको छ ।

तस्करीको अखड़ा बन्दै सिरहा

राजस्व अनुसन्धान कार्यालय ईटहरीका प्रमुख सुरेश आचार्यका अनुसार चोरी तस्करी नियन्त्रण साता अन्तर्गत सिरहामा मात्र गत असोज महिनाको एक साताभित्र करिब ३ करोड़ रुपैयाँ बढ़ी मूल्य बराबरको चोरी तस्करीका अवैध समानहरु नियन्त्रणमा लिइएको छ ।

राजस्व अनुसन्धान कार्यालयका टोलीले असोज १३ गते पचास लाख मूल्य बराबरको अवैध कपड़ा सिरहा नगरपालिका–१५ को सीमावर्ती सुखचैना गाउँस्थित चन्द्रनारायण यादव आधारभूत विद्यालय परिसर भित्र पिकअपमा लोड गर्दै गरेको अवस्थामा र बगैँचामा लुकाएर राखेको लत्ताकपडा बरामद गरेको प्रमुख आचार्यले जानकारी दिनुभयो ।

त्यसको भोलिपल्टै असोज १४ गते राजस्व अनुसन्धान कार्यालय इटहरीकै टोलीले लत्ताकपडासहितको ट्रक नियन्त्रणमा लिएको थियो ।

गत आइतवार दिउँसो सल्हेश मार्ग हुँदै चोहर्वातर्फ जाँदै गरेको भन्सार छलीका अवैध कपड़ासहितको ट्रक नियन्त्रणमा लिएको थियो ।

राजस्वको टोलीले तेश्रो दिनसमेत छापा मारेर अवैध कपडा बरामद गरेको थियो । असोज १५ गते सोमबार सिरहा नगरपालिका–१५ सुखचैना स्थितप्रहरी चौकी खिरौनाबाट करीब दुई सय मिटरको दुरीबाट अवैध कपडा बरामद गर्‍यो । भन्सार छलेर भारतबाट ल्याएको करिब ३२ लाख मूल्य बराबरको १६ गाँठ लत्ताकपडा बरामद गरिएको थियो ।

लगत्तै असोज १६ गते मंगलबार विहान पनि राजश्व अनुसन्धान कार्यालय इटहरी र सशस्त्र प्रहरी बल सिरहाले संयुक्त रुपमा सिरहा नगरपालिका–१८ तारापट्टी टोलबाट लुकाई राखेको करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ७८ पोका लत्ताकपडा बरामद गर्‍यो ।

सिरहाको मुख्य ब्यापारिक केन्द्र मिर्चैयाको एक कपडा पसल तथा गोदाममा राजश्व अनुसन्धान कार्यालयले छापा मार्दा त्यहाँबाट समेत अवैध लत्ताकपडा बरामद भएको थियो ।

यसरी राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सिरहाबाट मात्रै करिव ३ करोड बढीको भन्सार छलेर ल्याएको लत्ताकपडा एक साताभित्र बरामद गरेको राजश्व अनुसन्धान कार्यालय ईटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिनुभयो । सिरहा तस्करीको अखड़ा बन्दै गएको प्रति भने स्थनीयहरु चिन्तित छन् ।

prabhu mahalaxmi
kumari