साफ यू१९ च्याम्पियनसिप फुटबल: आज नेपाल र मालदिभ्स भिड्दै
काठमाडौँ । साफ यू१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज घरेलु टोली नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।
समूह चरणको अन्तिम खेल आज दिउँसो साढे १ बजे त्रिपुरेश्वरस्थिथ दशरथ रङ्गशालामा सुरु हुनेछ ।
समूह चरणको पहिलो खेलमा बिहीबार पाकिस्तानसँग १(० गोल अन्तरले पराजित भएको नेपाली टोलीलाई सेमिफाइनलमा पुग्न आजको खेल जित्नै पर्ने दबाब छ ।
बराबरी या हारले पनि नेपाली टोली समूह चरणबाटै बाहिरिनेछ । उता मालदिभ्सलाई भने सेमिफाइनलमा पुग्न बराबरी नै पर्याप्त हुनेछ ।
शनिबार भएको खेलमा मालदिभ्स र पाकिस्तानले बराबरी खेलेपछि नेपाललाई जित्नै पर्ने समीकरण बनेको हो ।
नेपाल रहेको समूह ए बाट २ खेलमा जित र एकमा बराबरी गर्दै ५ अङ्क जोडेको पाकिस्तान शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगिसकेको छ ।
समूह बी मा बङ्गलादेश, भुटान र भारत छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।





















