सरकारले लामो समय लकडाउनको घोषणा

आर्थिक सञ्जाल वैशाख ४, २०७७ बिहीबार
बालकृष्ण खाण–
कोरोना भाइरसको महामारीबाट नेपाली जनता प्रताडित भइरहेको र यसको संक्रमणलाई बढ्न नदिन सरकारले लामो समय लकडाउनको घोषणा गरेको छ तर उचित व्यवस्थापन गर्न नसकेको कारणले जनता पिडामा रहेका छन् । सरकारले संक्रमण न्यूनिकरण, रोकथाम तथा उपचारको व्यवस्थापनका लागि पर्याप्त समय पाउँदा पनि जनताको सुरक्षाका लागि आवश्यक तयारी गर्न सकेको देखिएन ।
स्वास्थ्य सामग्री र उपकरण खरिदको व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोर क्षमता मात्र हैन, नियतमा नै खोट देखिन्छ । हालको परिस्थितिमा सरकारको पहिलो काम भनेको जनताको र राष्ट्रको सुरक्षा गर्ने हो ।
वर्तमान सरकार जनता प्रतिको आफ्ना जिम्मेवारीबाट पन्छिदै यस्तो गम्भीर एवं संकटको समयमा केही आयोगको गठन गरी आफ्ना निकटस्थहरुलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउने मनसुवाबाट अगाडि बढेको देखिन्छ । अहिले सरकारको मूल कार्य महामारी नियन्त्रण, न्यूनिकरण र संक्रमितहरुको उपचार गर्नु हो ।
यस विषयमा प्रमुख प्रतिपक्ष लगायत सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकले अपूर्व सहयोग गरेको अवस्थामा पनि सरकार गम्भीर बन्न सकेको छैन । सरकार गम्भीर बनोस्, हाम्रो जोडदार माग रहेको छ । यो महामारी नियन्त्रण, न्यूनिकरण तथा उपचारका लागि चिकित्साकर्मी डाक्टर, नर्स, स्वास्थ्यसेवक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुले अहोरात्र अभूतपूर्व योगदान गरी रहनु भएकोमा हामी हार्दिक सम्मान गर्दछौं ।
उहाँहरु सबैको सुरक्षाको लागि सरकार संवेदनशील, गम्भीर र उत्तरदायी बनोस् । संसार भरी छरिरहेका नेपालीहरुले महामारीको पिडा भोगी रहेको छन् । असुरक्षाको अवस्थामा उनीहरुको मनोवल बढाउन र उनीहरुको पिडा तथा समस्यालाई सम्बोधन गर्न सरकार गम्भीर बनोस् भन्ने विषयमा ध्यान आकृष्ट गर्दछौं ।
लकडाउनका कारणले दैनिक ज्यालादारी, असंगठित क्षेत्रका श्रमिकहरु आफ्नो रोजगार गुमी आफ्नो घर पुग्नका लागि लामो पैदल यात्रबाटै हिडिरहेको अवस्थाले सबै नेपालीलाई पिडा बोध भएको छ । उनीहरुको बसोवास तथा खानपिनको उचित व्यवस्थापनको जिम्मेवारीबाट सरकार पन्छिनु सरकारको लाचारीको परकाष्ट हो ।
यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उनीहरुको बसोवास तथा खानपिनको उचित व्यवस्थापनका लागि माग गर्दछौं (खाण नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक तथा केन्द्रिय सदस्य हुनुहुन्छ )