stcnepal long ad
global ime bank long

हिमाली क्षेत्रमा पर्यटन सुधार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । आरोहणको ऋतु सुरु भएसँगै लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल व्यस्त भएको छ। आरोहण तथा ट्रेकिङमा जाने आन्तरिक र बाह्य पर्यटकको आवागमन बढेसँगै लुक्लामा अहिले काठमाडौँ तथा रामेछापको मन्थली विमानस्थलबाट दैनिक दर्जनौँ उडान भइरहेका छन्।

लुक्ला विमानस्थलका अनुसार रामेछापलाई आधार बनाएर उड्ने जहाज, काठमाडौँबाट हुने सिधा उडान र हेलिकोप्टर मार्फत पर्यटक धमाधम लुक्ला भित्रिने गरेका छन्।

नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठका अनुसार पछिल्लो समय लुक्लामा दैनिक चार–पाँच सय पर्यटक भित्रिने गरेका छन्। उहाँले भन्नुभयो, “आरोहणको मौसम सुरु भएदेखि लुक्ला र काठमाडौँका उडान भरिभराउ हुन थालेका छन्। विमानस्थलमा हेलिकोप्टरले समेत दैनिक दर्जनभन्दा बढी उडान गर्दै आएका छन्।”

रामेछापबाट तारा, समिट र सीता एयरले दैनिक सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलका लागि पर्यटक बोकिरहेकाले लुक्लासँगै मन्थली विमानस्थलको व्यस्ततासमेत बढेको छ।

त्यस्तैगरी वसन्तयाममा पर्वतारोहण तथा पदयात्रा लक्षित काठमाडौँबाट हुँदै आएका उडान र हेलिकोप्टरबाट लुक्ला पुग्ने विदेशी पर्यटकको सङ्ख्या अधिक रहेको उहाँको भनाइ छ।

उहाँले पर्यटकको चाप बढेसँगै लुक्लाबाट दैनिक उडान सङ्ख्यासमेत बढेको बताउनुभयो। पछिल्लो समय वायु प्रदूषणका कारण देशका विभिन्न विमानस्थलको उडान प्रभावित भए पनि लुक्लामा भने उडान नियमित छन्।

मन्थली विमानस्थल कार्यालयका अनुसार गत चैत मध्यबाट लुक्लामा कार्गो तथा यात्रुवाहक उडानको सङ्ख्या बढेसँगै विमानस्थल व्यस्त बनेको छ।

वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि पर्वतारोही बढी हुने गरेकाले यो रुटमा पर्यटकको आवागमन बढ्दा हवाई उडानसमेत बढ्ने गरेको विमानस्थल कार्यालयले जनाएको छ।

आरोहणका लागि पहिलो ऋतु चैत, वैशाख, जेठ तथा दोस्रो ऋतु असोज, कात्तिक र मङ्सिरमा पर्यटकको सङ्ख्या अधिक हुने भएकाले लुक्ला र मन्थली विमानस्थलको व्यस्तता बढ्ने गरेको छ।

कोभिड–१९ का कारण विगत लामो समयदेखि सुनसान बनेको सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र खुम्बुमा पर्यटकको चहलपहल सुरु हुन थालेको छ।

कोरोना महामारी बिस्तारै कम हुँदै जान थालेपछि विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य मनोरम दृश्यावलोकन गर्न आउने पर्यटकको आगमन दिन प्रतिदिन बढ्न थालेको छ।

आरोहण मौसम सुरु भएपछि खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल बढेको सगरमाथा राष्ट्रिय निकुञ्जको जोरसल्ले चेकपोस्टले जनाएको छ।

सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले हिउँदपछि सुनसान रहेको खुम्बुमा पछिल्लो समय दैनिक सयौँको सङ्ख्यामा पर्यटक भित्रिन थालेको बताउनुभयो। सन् २००५ यता सगरमाथा राष्ट्रिय निकुञ्जमा बर्सेनि २५ हजारको हाराहारीमा पर्यटक भित्रिने गरेकोमा उक्त सङ्ख्या कोरोना महामारीको समयमा घटेपछि अहिलेको पर्यटन आगमनले यो वर्ष पुरानै लयमा फर्किन सक्ने उहाँको विश्वास छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

IME Lifesidebar
kumari