stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बुद्ध एयरले पोखराबाट नयाँदिल्ली सेवा विस्तार गर्दै 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुन लगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ ।

बुद्ध एयरले देशकै प्रमुख पर्यटकीय क्षेत्र पोखराबाट नयाँदिल्ली सिधा उडान गर्ने तयारी गरेको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडान गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार बुद्ध एयरले पोखराबाटै भारतको देहरादुन गन्तव्यमा पनि उडान गर्ने योजना बनाएको छ । पोखराबाट दिल्ली गन्तव्यमा दैनिक दुई वटा उडान सञ्चालन गरिनेछ । उक्त गन्तव्यको उडान एक घण्टा ३० मिनेटको हुन्छ ।

कम्पनीले यसअघि भारतको वनारस र कोलकात्तामा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोगमा ल्याएका एटिआर ७२ जहाजमार्फत नै दिल्ली गन्तव्यमा उडान गर्ने जनाएको छ ।

बुद्ध एयर आन्तरिक उडानमा सबैभन्दा बढी एटिआर जहाज भएको कम्पनी पनि हो । नजिकका गन्तव्यमा तिनै जहाजले अन्तर्राष्ट्रिय उडान भर्ने गरेको छ । पर्यटकीय गन्तव्य पोखराबाट दिल्ली उडान गर्दा भारतीय पर्यटक बढोत्तरी हुने विश्वास लिइएको छ ।

पर्यटकीय गन्तव्यमा सिधै पुग्न सकिने भएकाले यो गन्तव्य व्यावसायिक हिसाबले पनि निकै सम्भावनायुक्त गन्तव्य हुने व्यवसायीको बुझाइ छ ।

“पोखरा प्रमुख पर्यटकीय गन्तव्य हो । पर्यटकको पहिलो रोजाइ नै पोखरा पर्ने भएकाले त्यहाँबाट नजिकको गन्तव्य नयाँदिल्ली हुने भएकाले सेवा विस्तार गर्न लागिएको छ”, सूचना अधिकारी कर्णले भन्नुभयो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चाँडो सञ्चालन भएमा त्यहाँबाट सिधा नयाँदिल्ली उडान गर्ने योजना अनुरुप आवश्यक प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ । उक्त गन्तव्यमा सिधा उडानका लागि नेपाल र भारत दुवैतर्फको प्रक्रिया पूरा गरेर उडान सञ्चालन गर्नेगरी काम भइरहेको कम्पनीका सूचना अधिकारी कर्णले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पोखराबाट दिल्ली उडानका लागि हामी अप्लाइ गर्दैछौँ, ‘अफिसियल प्रोसिडर’ पूरा गर्न पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण तथा भारतको ‘डिरेक्टेट जनरल अफ सिभिल एभिएसन’ (डिजिसिए) बाट अनुमति लिएर उडान सञ्चालन गर्छौं ।” आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा ओगट्ने बुद्ध एयरले अहिले दैनिक १५० भन्दाबढी उडान गरिरहेको छ ।

यी उडानमार्फत दैनिक आठ हजार ५०० हाराहारी यात्रुले सेवा लिइरहेको कम्पनीले जनाएको छ । बुद्ध एयरसँग ११ वटा एटिआर–७२, तीन वटा एटिआर–४२ र दुई वटाबीच क्राफ्टसहित १६ जहाज छन् । थप चार जहाज आउने प्रक्रियामा रहेको र करिब चार महिनाको अन्तरालभित्रै ती जहाज नेपाल आइपुग्ने कम्पनीले जनाएको छ ।

वनारसमा मे पहिलो सातादेखि उडान
बुद्ध एयरले काठमाडौं–बनारस गन्तव्यमा पुनःसिधा उडान गर्ने तयारी गरेको छ । बनारस उडानको प्रक्रिया पूरा भइसक्यो कम्पनीले जनाएको छ । भारतको चर्चित तीर्थस्थल वनारस पनि सम्भावना भएको गन्तव्य मानिन्छ । “वनारस उडानको प्रक्रिया पूरा भइसकेको छ, खाली ‘कन्फरमेशन लेटर’ मात्रै आउन बाँकी छ । हामी मे फष्टदेखि उडान सञ्चालन गर्छौं”, बुद्ध एयरका सूचना अधिकारी कर्णले भन्नुभयो ।

उक्त गन्तव्यमा कोभिड सङ्क्रमणको उच्च जोखिमका कारण उडान स्थगित भएको थियो । धार्मिक पर्यटनका दृष्टिकोणले भारतको बनारस महत्वपूर्ण गन्तव्य मानिन्छ । काठमाडौंदेखि वनारसलाई धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुद्धले उडान गरिरहेको थियो ।

बुद्ध एयरले आन्तरिक उडानमा एटिआर जहाज मार्फत गुणस्तरीय सेवा प्रदानका साथै पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको छ । सन् १९९७ अक्टोबर ११ मा बुद्ध एयरले पहिलो उडान गरेको थियो । यसले उडानकै सुरुआतमा अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी भित्र्याएको थियो ।

पोखरालाई हब बनाएर उडान
बुद्ध एयरले पोखरा विमानस्थललाई हब बनाएर सबै सुगम गन्तव्यका सहर जोड्ने योजना बनाएको छ । जसअनुरुप बुद्धले हाल पोखराबाट छ सहरलाई जोडिसकेको छ । पोखराबाट जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगञ्ज र धनगढी गन्तव्यमा उडान गरिरहेको कम्पनीले जनाएको छ ।

छिट्टै पोखरा–भद्रपुर पनि सेवा सञ्चालन गर्ने आवश्यक तयारी गरिसकेको छ । वैशाख २ गतेदेखि उडान गर्ने भनिए पनि प्राविधिक कारण केही विलम्ब हुने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक ११ हेलिकप्टर कम्पनीसहित २० हवाई सेवा प्रदायक कम्पनीले उडान सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रियमा दुई नेपालीसहित २३ वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । रासस

prabhu mahalaxmi
kumari