हिमाल सरसफाइ व्यवस्थापनका लागि नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन हुने
काठमाडौं। नेपालको पर्वतीय क्षेत्र तथा उच्च हिमाली क्षेत्रमा रहेको फोहोरको दिगो व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मार्ग निर्देशन बनाउने गरी आगामी जुन महिनामा नेपालमा अन्तरराष्ट्रिय सम्मेलन हुने भएको बताइएको छ।
उक्त कार्यक्रममा हिमालय क्षेत्रका काम गरेको विभिन्न वैज्ञानिक, इन्जिनियर, वातावरणविज्ञ, डाक्टर लगायतको सहभागिता रहने भएको छ। यो सबै कामको माडालिटी तय गर्नका लागि नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मी र स्पेसिनस कम्पनी द नेभररेस्ट प्रोजेक्टका प्रोजेक्ट डाइरेक्ट फेडरिक काउफमेनले हस्ताक्षर गरेका छन्।
सम्मेलनमा नेपालका हिमालहरुमा यसअघि नेपाली सेनाले गर्दै आएको हिमाल सरसफाइ सम्बन्धी तथ्यांकको अध्ययन तथा विश्लेषण गरिनुका साथै विश्वका अन्य देशका पर्वतीय क्षेत्र तथा उच्च हिमाली क्षेत्रमा रहेको फोहोरको दिगो व्यवस्थापनमा भएका मोडालिटीहरुको अध्ययन गरी विश्वभरी नै पर्वतीय क्षेत्र तथा उच्च हिमाली क्षेत्रमा हुने फोहर व्यवस्थापन तथा सरसफाइको मापदण्ड बनाइने सीईओ रेग्मीले जानकारी दिएका छन्।
यसबाट हिमालको दिगो व्यवस्थापन गर्दै भावी पुस्तालाई स्वच्छ हिमाल हस्तान्तरण गर्न सकिने र विश्व समुदायमा हिमालको महत्व, हिमाल आरोहण गर्दा फोहोर व्यवस्थापनका अरु विषयमा साझा धारणा तय हुने समेत उनले बताएका छन्।


























