वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानहरुमा व्यापक कटौती
आर्थिक सञ्जाल शुक्रबार,३० फागुन २०७६
काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानहरुमा व्यापक कटौती गरेको छ । कोरोना भाइरस (कोभिड १९) का कारण यात्रु संख्यामा आएको कमी आएको भन्दै निगमले उडानमा कटौती गरेको हो । जस अनुसार दैनिक दुईवटा उडान हुँदै आएको काठमाडौं – दिल्ली– काठमाडौं उडान मार्च १५ देखि एउटा मात्र गरिने छ । बिहानको उडान नियमित राखी साँझको विमान अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ । बैंगलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरिएको छ भने मुम्वईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्च देखि १५ अप्रिलसम्म स्थगित गरिएको छ ।
बैंककको मार्च ११ र मार्च २५ को उडान एवं हङकङको मार्च १९ र मार्च २६ को उडान पनि रद्द गरिएको छ । काठमाडौं दोहा बीचको उडान फागुन २७ गते देखिनै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिसकिएको छ ।
यी उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने निगमले जनाएको छ । साथै, टिकटको उडानको मिति १ पटक परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था पनि गरिएको छ ।