stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली सुरु

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल भ्रमणमा आउने विदेशी नागरिक अनिवार्य निगरानीमा परेका छन् । सरकारमातहत रहेको अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली मार्फत देशको सुरक्षा व्यवस्थासँगै प्रणालीबाट सरकार, पर्यटन सम्बन्धित निकाय तथा एकीकृत सूचना प्रणाली अभिलेखीकरण गर्ने गरी उक्त प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

बिहीबार काठमाडौँमा एक समारोहबिच गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त प्रणालीको उद्घाटन गर्नुभयो । उद्घाटनमा बोल्दै मन्त्री अर्यालले नेपालको अध्यागमन प्रणाली थप व्यवस्थित गर्न यस प्रणाली कार्यान्वयनले सघाउने दाबी गर्नुभयो ।

विश्वव्यापी रूपमा अन्तरदेशीय तथा सीमापार अपराध बढेको भन्दै उहाँले त्यस्ता अपराध न्यूनीकरण तथा नियन्त्रण गर्दै राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रणाली सुदृढ बनाउन यसले सहयोग पु¥याउने बताउनुभयो ।

उहाँका अनुसार नेपालमा समस्यामा परेका विदेशी नागरिकको उद्धार तथा सुरक्षा गर्दै नेपालमा पर्यटकको सुरक्षा सुनिश्चित गर्न भूमिका खेल्ने छ । यसले देशको सुरक्षा व्यवस्थासँगै नेपाल आउँदा पर्यटक सुरक्षित रहन्छन् भन्ने विश्वास अन्तर्राष्ट्रिय मञ्चमा दिलाउने विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताउनुभयो ।

पर्यटक सुरक्षामा देखिएको चुनौतीसँगै पछिल्लो समय आपराधिक घटनामा विदेशी नागरिक बढेको संलग्नता न्यूनीकरण गर्न पनि यस प्रणाली सहायक हुने विभागले जनाएको छ । महानिर्देशक तिवारीका अनुसार सरकारी निगरानीपछि नेपालमा अनधिकृत बसिरहेका र बस्न खोज्नेलाई नियमन गर्न पनि सहज हुने छ । साथै शरणार्थीका रूपमा नेपाल आएकाको तथ्य यकिन हुने अनुमान गरिएको छ ।

शरणार्थीमध्ये कतिपयले यात्रा अनुमतिपत्र बनाएर फर्केको भए पनि त्यसको जानकारी सरकारसँग छैन । उहाँले भन्नुभयो, “नेपाल आएका विदेशी नागरिक को, कहाँ, किन र कसरी बसेका छन् भन्ने यकिन तथ्य नहुँदा अनुसन्धान, कारबाही र न्याय निरूपणमा तथा सेवा सुविधा प्रवाहमा पनि समस्या उठेको प्रश्न समाधान गर्न प्रणालीले मद्दत गर्ने छ ।”

तिवारीले थप्नुभयो, “विदेशी नागरिक नेपालमा विभिन्न कारणले हराउँदा मित्रराष्ट्रबाट सोधनी हुँदा सरकार अन्योलमा पर्ने गरेको अवस्था अहिलेसम्म कायमै छ ।” प्रणाली कार्यान्वयनमा जाँदा सबै सरोकारवालालाई आबद्ध गराउने प्रविधि पुर्‍याउन नसक्ने चुनौती देखिएको छ ।

त्यस्तै अनौपचारिक प्रणालीमा अधिक होटल तथा अन्य पर्यटकीय सङ्घ संस्था रहनु, डिजिटाइजेसन प्रणालीमा नजोडिनु आदिका कारण आबद्धता न्यून हुने हो कि भन्ने शङ्का छ । तथापि पहिलो चरणमा काठमाडौँमा उपलब्ध तारे होटलबाट प्रणालीमा आबद्धता सुरु गरिएको महानिर्देशक तिवारीले जानकारी दिनुभयो ।

सबैलाई समावेश गराउने रणनीति अख्तियार गरेको विभागले बोलाएरै पनि आबद्ध हुन जोडबल गरिरहेको विभागका इन्जिनियर सन्तोषकुमार शाह बताउनुहुन्छ । आबद्धताले व्यावसायिक तथा व्यक्तिगत सुरक्षासँगै देशगत सम्बन्धलाई थप प्रगाढ बनाउन सघाउने पनि उहाँले बताउनुभयो ।

त्यसका लागि तिनै तहका सुरक्षा निकायसँगै नेपालका विभिन्न विमानस्थल व्यवस्थापन, नेपाल टेलिकम, नेपाल टुरिजम बोर्ड, तारे होटलका व्यवस्थापन, पर्यटन व्यवसायमा आबद्ध ट्रेकिङ एजेन्सीसँग विभागले परामर्श जारी राखेको छ ।

यस प्रणालीले नेपालप्रति विश्वकै भरोसा कायम गर्ने वातावरण बनाउने दाबी विभागले गरेको छ । हालसम्म तारे होटल तथा केही ट्रेकिङ एजेन्सी गरेर करिब तिस वटा निकाय प्रणालीमा जोडिएका छन् ।

अन्य आउने क्रम छ । पहिलो चरणमा उपत्यकामा पुस १७ देखि दोस्रो चरणमा फागुन १७ देखि देशभित्रका सबै तारे होटल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स कम्पनी, मनी एक्सचेन्जरसँगै सबै प्रकारका होटल, गेस्टहाउस तथा अन्य सार्वजनिक तथा निजी संस्थाबाट विदेशी नागरिकलाई प्रवाह हुने सेवामा यो प्रणालीको आबद्धता अनिवार्य गरिने भएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari