नेपाल एअरलाइन्सको रेसुङ्गा–काठमाडौं उडान तालिका परिवर्तन

गुल्मी । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले गुल्मीमा उडानको तालिका परिवर्तन गरेको छ । निगमले यसअघि हप्तामा मङ्गलवार र शुक्रवार उडान गर्दै आएकोमा अबदेखि बुधवार र शुक्रवार उडान गर्ने जनाएको छ ।
रेसुङ्गा विमानस्थलबाट मङ्गलवारको दिन काठमाडौं आउजाउ गर्ने यात्रुको सङ्ख्यामा कमी आएपछि निगमले त्यो दिनको तालिकालाई हटाएर बुधवार सारेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई बुधवार र शुक्रवार उडान गर्न अनुमति दिएको छ ।
यसअघि निगमले मङ्गलवार रेसुङ्गा विमानस्थलबाट एक जना यात्रु लिएर काठमाण्डौ गएको थियो । गुल्मीमा मङ्गलवारको दिन धेरै मानिस घरबाट लामो यात्रामा बाहिर ननिस्कने भएका कारण पनि स्थानीयको मनोभावनाअनुसार निगमले मङ्गलवारको ठाउँमा बुधवार सारेको हो ।
निगमको १८ सिट क्षमताको जहाजले हप्ताको प्रत्येक बुधवार बिहान साढे ६ बजे काठमाण्डौबाट रेसुङ्गा र बिहान साढे ७ बजे रेसुङ्गाबाट काठमाण्डौका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ ।
निगमले काठमाण्डौबाट रेसुङ्गाका लागि सात हजार दुई सय ८० र रेसुङ्गाबाट काठमाण्डौका लागि सात हजार ८० रुपैयाँ भाडा निर्धारण गरेको छ ।
नागरिक उड्डयन प्राधिकरणको एअर ट्राफिक कन्ट्रोलर अस्मिता बस्नेतले प्रतिकूल मौसमका कारण यसअघि उडान रद्द हुने गरेको भए पनि मौसममा सुधार आएको भन्दै अबदेखि उडान नियमित हुने बताउनुभयो ।
गुल्मीमा धुले उडान भएको चार वर्षपछि मात्र व्यावसायिक उडान शुरु गरिएको थियो । रेसुङ्गा विमानस्थल सदरमुकाम तम्घासबाट पाँच किलोमिटरको दुरीमा पर्दछ ।
१३ असोज २०८०, शनिवार ०६:५९ बजे प्रकाशित