राष्ट्रिय खेलकुद परिषदका कर्मचारी आन्दोलित
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ बढुवा प्रक्रियालाई यथाशीघ्र अगाडि बढाउन माग गर्दै आन्दोलनमा उत्रिएको छ ।
गत साउन २२ गते संघकी अध्यक्ष सरस्वती केसी भण्डारी नेतृत्वको कर्मचारीको टोलीले युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र बढुवा प्रक्रियालाई अगाडि बढाउन माग गरेको थियो ।
तर, तीन दिन सम्म पनि माग सम्बोधनका लागि कुनै सकारात्मक पहल नभएको भन्दै संघले हिजो साउन २५ गते एक पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रम घोषणा गरि आज साउन २६ गतेदेखि भदौ १ गतेसम्म आन्दोलनको कार्यक्रम गर्दैछ।
जसमा आज साउन २६ गते शुक्रबार बिहान १० बजे उपत्यकामा रहेका सम्पूर्ण कर्मचारीहरुको भेला गराई कोणसभा गर्ने, साउन २८ देखि ३० गतेसम्म कालो पट्टी बाँधेर नियमित कार्यालयको काम गर्ने, साउन ३१ गते कालो पट्टी बाँधेर १ घण्टा, साउन ३२ गते र भदौ १ गते दिन कालो पट्टी बाँधेर २ घण्टा पेन डाउन गरी विरोध जनाउने संघर्षका कार्यक्रम रहेका छन् ।
राष्ट्रिय खेलकुद परिषदमा कार्यरत कर्मचारीहरुको लामो समय सम्म बढुवा नभई संस्थागत रुपमा नै ठुलो समस्या श्रृजना भई खेलाडी, प्रशिक्षकहरु समेत पलायन भईरहेका छन।
यस्तो अवस्थामा कर्मचारी संघको पहलमा परिषद्को ११६ औं बोर्ड बैठकको निर्णय अनुसार कर्मचारी सेवा शर्त नियमावली २०६८ को दोश्रो संशोधन परिच्छेद ६ को दफा ५६ को उपनियम १ र १)(क) मा भएको व्यवस्था वमोजिम कर्मचारीहरुको बढुवा प्रक्रिया अगाडी बढाई सुचना प्रकाशित समेत गरी परिषद अन्तर्गत सात वटै प्रदेश र ७७ वटै जिल्लामा कार्यरत रहेका कर्मचारीहरुमध्ये नियमानुसार सम्भावित कर्मचारीहरुले तोकिएकै मिति भित्र परिषद आएर पदपूर्ति समितिबाट बढुवाका लागि स्विकृत दरखास्त फारम भरी बुझाई सकेको थियो।
पदपूर्ति समितिले पनि बिद्यमान नियमावली बमोजिम समितिबाट गर्नुपर्ने प्रारम्भिक चरणका कार्यहरु ९९ प्रतिशतभन्दा बढी सम्पन्न गरी बढुवाको लागि योग्य उम्मेदवारको अन्तिम नामावली निर्णय गरी अनुमोदनका लागि परिषद् समक्ष सिफारीस गर्नुपर्ने काममात्र बाँकी रहेको अवस्थामा युवा तथा खेलकुद मन्त्रालयमा रहेका केही निहीत स्वार्थ बोकेका कर्मचारीहरुले राष्ट्रिय खेलकुद परिषद् प्रति गरेको असहयोगका कारणले बढुवा प्रकृया रोकिन पुगेको संघले जनाएको छ।
युवा तथा खेलकुद मन्त्री, युवा तथा खेलकुद मन्त्रालयका सचिव, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवबाट ऐतिहासिक र सकारात्मक कार्य हुँदा समेत सार्थक परिणाम पाउन सकिरहेको छैन। कर्मचारी संघले युवा तथा खेलकुद मन्त्री मन्त्रालयका सचिव, परिषद्का उपाध्यक्ष लगायत परिषद्का सदस्य सचिवलाई तीन दिनको समयसिमा दिई ज्ञापन पत्र बुझाएको थियो।
उक्त ज्ञापन पत्रको माग अनुसारको सकारात्मक सम्वोधन सम्वन्धित पक्षबाट नआएकोले बढुवा प्रक्रियालाई छिटो भन्दा छिटो सार्थक परिणाममा पुरयाउन कर्मचारी संघको निर्णय अनुसार २०८० श्रावण २६ गतेदेखि प्रथम चरणका संघर्षका कार्यक्रम घोषणा गरी चरणबद्व आन्दोलनमा उत्रन बाध्य भएको नेपाल राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीले पत्रकार सम्मेलन गर्दै जनाएकी छिन।
उनले संचार माध्यम मार्फत सम्बन्धित सरोकारवाला सबै पक्षहरु राष्ट्रिय खेलकुद परिषद,युवा तथा खेलकुद मन्त्रालय,खेलकुद मन्त्री,खेलकुद सचिव लगायतमा आवश्यक सहयोग र समन्वयका लागि ध्यानाकर्षण गराईदिन पनि अनुरोध गरेकी छिन ।























