नेपाल ओलम्पिक कमिटीको निर्वाचन गर्न सर्वोच्चले लगायो रोक
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन गर्न रोक लगाएको छ । अध्यक्ष जीवनराम श्रेष्ठले एकलौटी रूपमा निर्वाचन गर्न लागेको भन्दै कमल चित्रकारले रिट दायर गरेका थिए ।
चित्रकारले दायर गरेको रिटउपर न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । एनओसीको निर्वाचन पुस १३ गते हुने तय थियो ।
सरकारले पनि श्रेष्ठ नेतृत्वको वर्तमान कार्यसमितिलाई निर्वाचन नगर्न निर्देशन दिएको थियो । त्यसको बाबजुद् निर्वाचन हुन लागेको थियो ।
गैरकानुनी रूपमा निर्वाचन गराउन लागेको भन्दै ८ पुसमा नेपाल ओलम्पिक कमिटीको कार्यालय सातदोबाटो, ललितपुरमा प्रहरी परिचालन गरिएको थियो ।
त्यसअघि ओलम्पिक कमिटीमा गैरकानुनी रूपमा चुनाव हुन लागेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो ।