धरान उपमहानगरपालिकाबाट दुई अर्ब २० करोडको बजेट तथा नीति कार्यक्रम पारित
काठमाडौँ । लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमसहितको बजेट पारित गर्दै यही असोज ४ गते नगरसभामा अनुमोदनका लागि प्रस्तुत गरिने भएको छ ।
धरान उपमहानगरपालिका–१७ का वडाध्यक्ष तथा नगर प्रवक्ता सूर्यप्रसाद भट्टराई (मनोज) का अनुसार हिजो बसेको कार्यपालिका बैठकले रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको कुल बजेट साथै नीति तथा कार्यक्रम पनि बैठकबाट पारित गरिएको छ ।
यसअघि गत भदौ २६ गते नगरसभा गर्ने तय भए पनि जेनजी आन्दोलनका क्रममा धरानमा भएको तोडफोड, लुटपाट र आगजनीका कारण कार्यक्रम स्थगित गरिएको थियो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक आर्थिक वर्षको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था भए पनि धरान उपमहानगरपालिकाले तीन महिनापछि मात्र बजेट प्रक्रिया अघि बढाएको हो ।
बजेट अभावका कारण धरान उपमहानगरपालिकामा विगत तीन महिनादेखि विकास निर्माण, कर्मचारी पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता, सार्वजनिक सेवा र आर्थिक कारोबार ठप्प भएका छन् ।
नगरप्रमुख हर्कराज राई (साम्पाङ) र उपप्रमुख अइन्द्रविक्रम बेघाबीच श्रमदान कार्यक्रम, प्रशासकीय निर्णय र बजेट सिलिङसम्बन्धी मतभेदका कारण लामो समय कार्यपालिका बैठक नै बस्न सकेको थिएन ।
उपप्रमुख बेघाको नेतृत्वमा गत वैशाख ३० गते सम्पन्न राजस्व परामर्श समितिले करिब रु एक अर्ब ६० करोड १५ लाखको बजेट प्रस्ताव गरेको थियो । तर, अन्तिम रूप दिने क्रममा मतभेद चर्किँदा प्रक्रिया अघि बढ्न सकेको थिएन ।
जनप्रतिनिधिबीचको समन्वय अभाव र राजनीतिक असहमतिका कारण नगरको विकास प्रभावित भएकामा अब भने बजेट पारित भएपछि काम अगाडि बढ्ने आशा गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
कार्यपालिका बैठकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त व्यक्तिप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भक्तपुरमा गोली लागेर निधन भएका धरान उपमहानगरपालिका–५ का साजन मेवाहाङ राईका दुई छोराका लागि रु पाँच लाखको शैक्षिक कोष स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ ।























