कांग्रेस र एमालेले तोके उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेसभित्र राष्ट्रियसभा सदस्यको उम्मेदवार भागबण्डामा टुंगाइएको छ । जसअनुसार देउवा पक्षका ४ उम्मेदवार रहेका छन् भने डा।शेखर कोइराला पक्षका दुई जनामै सीमित भएका छन् ।
कांग्रेस पार्टी कार्यालय सानेपामा आज सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, लुम्बिनी प्रदेशमा युवराज शर्मा, कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिम प्रदेशमा नारायण मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
जस अनुसार मिश्र र पन्त मात्रै डा.शेखर कोइराला पक्षका हुन् । जसका पन्त सहमहामन्त्रीमा पराजित बनेकी थिइन् भने मिश्र वीरबहादुर बलायरसँग सुदूरपश्चिम प्रदेश सभापतिमा पराजित बनेका थिए ।
सत्तारुढ गठबन्धनमा भागबण्डा हुँदा कांग्रेसले ६ जना उम्मेदवार उठाउने गरी भागबण्डा भएकामा कांग्रेसभित्र पनि गुटगत भागबण्डा भएको छ ।
आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको १९ सिटमा चुनाव हुँदैछ । आगामी फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिदैछ। यसमा एक जना राष्ट्रपतिद्वारा मनोनित सिट पनि पर्दछ।
नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका लागि १९ जना उम्मेदवारको टुङ्गो लगाएको छ । आज सोमबार तुलसीलाल आमात्य प्रतिष्ठानमा बसेको एमाले बैठकले उम्मेदवारहरुको टुङ्गो लगाएको हो ।
एमालेले प्रदेश १ बाट गुरु बराल, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी प्रदेश २ बाट असर्फी यादव, विना साहलाई उम्मेदवार बनाएको छ ।
वागमती प्रदेशमा पुराना नेता गोपाल शाक्य र निरकुमारी कुँवरलाई उम्मेदवार बनाएको छ। एमालेले गण्डकी प्रदेशमा अर्जुन कुमार सुनाम, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ ।
यसैगरी लुम्विनी प्रदेशमा कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ता राष्ट्रिय सभा सदस्यका उम्मेदवार बनाउने निर्णय गरेको छ। यसैगरि कर्णाली प्रदेशबाट पदमबहादुर माझी, गंगा थापा र चूडामणि शर्मालाई उम्मेदवार बनाएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशमा नरेश विक, सन्तोषकुमारी शर्मा र डिल्लीराज भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
राष्ट्रिय सभामा आगामी फागुन २० गतेपछि एमालेले जितेका ८ सिटसहित कुल १९ स्थान रिक्त हुँदैछन् । एमालेतर्फका सिटमा प्रदेश १ बाट तीनजना राष्ट्रियसभा सदस्य पदमुक्त हुँदैछन् । त्यस्तै प्रदेश २, लुम्विनी, सुदुरपश्चिम र कर्णाली प्रदेशबाट एमालेका एकरएक सीट खाली हुन लागेका छन् ।
माघ १२ मा हुने राष्ट्रिसभाको चुनावमा एमालेले आफ्नो पुरानो ८ सीट जोगाउनुपर्ने चुनौती रहेको छ ।
यसअघि एमालेले जितेका ८ सीटमा सुमनराज प्याकुरेल प्रदेश २, रामलखन चमार लुम्विनी, परशुराम मेघी गुरुङ प्रदेश १, नैनकला ओझा प्रदेश १, चक्र प्रसाद स्नेही सुदुरपश्चिम,कोमल वली लुम्विनी, कविता वोगटी, कर्णाली र अगमप्रसाद वान्तवा प्रदेश १ रहेका छन।























