एमालेको केन्द्रीय कमिटि निर्वाचन आज राती हुने
चितवन। नेकपा (एमाले) को सौराहामा जारी १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ९ बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले संशोधन सहितको कार्यतालिका सार्वजनिक गरेको छ । यसअघि आइतबार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका तत्कालै संशोधन गरिएको थियो ।
पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९ः२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ । यस्तै ८ बजेदेखि बिहान ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले बताएका छन । बिहान १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । यस्तै १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुनेछ ।
यसैगरि बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ । बिहान १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुनेछ । मतदानको समय मङ्गलबार बिहान ३ बजेसम्म तोकिएको छ ।
मतदान सकिएपछि मतगणना हुनेछ । एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा केपी शर्मा ओलीलाई दिइएको थियो ।
अध्यक्ष ओलीले आइतबार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गरेका थिए। उनले १९ पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए ।
विगतको केन्द्रीय कमिटीका अधिकांशलाई समेट्दै ओलीले केन्द्रीय सदस्य थप गरेका थिए । उनले प्रस्ताव गरेका नाममा महाधिवेशन प्रतिनिधिले ताली बजाएका थिए । यद्यपि केन्द्रीय सदस्यमा निर्वाचित हुनका लागि निर्वाचनको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
एमाले नेता डा. भीम बहादुर रावल र घनश्याम भुसाल निर्वाचनको पक्षमा देखिएका थिए । उनीहरुले केपी शर्मा ओलीको सर्वसम्मतको प्रयासलाई अस्वीकार गरेका थिए र निर्वाचन प्रकृयाको माग गरेका थिए।
ओलीले हिजै राती एमालेका १९ जना पदाधिकारीको पनि नाम प्रस्तावित गरेका छन। त्यसमा डा। रावल,भूषाल, रघुजी पन्त बाहेकको खासै विरोध छैन। राम बहादुर थापा बादल पक्षको समेत समर्थन रहेको छ। पदाधिकारीमा अध्यक्षमा डा. रावल,महासचिवमा घनश्याम भूषाल र उपमहासचिवमा पन्तको थप उम्मेदवारी पर्ने सम्भावना छ ।
यी पदाधिकारी पद र केही केन्द्रीय सदस्य बाहेकमा विपक्षी गठबन्धनबाट उम्मेदवारी पर्ने सम्भावना निकै कम छ। अध्यक्ष,महासचिव र उपमहासचिवमा निर्वाचन भएमा डा. रावल समुहले बढीमा २५० मत ल्याएर सानदार पराजय व्यहोर्ने निश्चित छ।























