एमालेमा विधान संशोधन प्रस्ताव

काठमाडौं । साउन २५ गते सोमबार बसेको नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले पार्टीका केन्द्रीय पदाधिकारी निर्वाचन प्रणाली र संख्यामा हेरफेर संशोधन गर्ने प्रस्ताव गरेको छ।
अध्यक्ष र केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित गर्ने र अन्य पदमा उपाध्यक्ष, महासचिव,उपमहासचिव,सचिव,सचिवालय र स्थायी समिति सदस्य केन्द्रीय समितिबाट निर्वाचित गर्ने गरि विधान संशोधन प्रस्ताव गरेको छ ।
यसैगरि पदाधिकारीका केही पदमा संख्या हेरफेर गरेको छ। सोतका अनुसार एमालेले ५ उपाध्यक्षको संख्या घटाएर दुई बनाउने, एक महासचिव,दुई उपमहासचिव, सचिवको संख्या ५ बाट बढाएर ७ बनाउने गरि विधान संशोधन प्रस्ताव अगाडि बढाएको छ।
एमालेले आगामी भदौ २७–२८ गते काठमाडौंमा विधान अधिवेशन बोलाउने निर्णय गरेको छ। यस्तै एमालेले अहिलेको पार्टी लोगोलाई पनि परिवर्तन गर्ने गरी विधान संशोधन प्रस्ताव तयार गरेको छ।
एमालेको अहिलेको लोगोमा सूर्य चिह्न भित्र हँसिया हथौंडा र अंग्रेजीमा ‘सीपीएन यूएमएल’ उल्लेख गरिएको छ । सूर्य चिह्न भित्र हँसिया हथौंडा राखेर समयक्रमसँगै लोगोलाई आकर्षित र कलात्मक बनाउनका लागि परिमार्जन गर्ने प्रस्ताव गरिएको एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिएका छन।
त्यस्तै एमालेले आफ्ना कार्यक्रममा राष्ट्रिय गान र राष्ट्रिय झण्डा अनिवार्य राख्ने गरी विधान संशोधनका लागि प्रस्ताव गरेको छ ।
गणतन्त्र स्थापनापछि एमालेका कार्यक्रममा राष्ट्रिय गान बजाउने र झण्डा राख्ने अभ्यास गरिँदै आएको भए पनि विधानमा व्यवस्था गरिएको थिएन, अब त्यो व्यवस्था गरिने भएको छ।