पौडेल र सिटौला मिल्ने

काठमाडौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पछिल्लो समय नजिकिएका छन् । उनीहरुबीच भेटवार्ता बाक्लो हुन थालेको छ ।
पौडेल पक्षको आजको बैठकमा समेत सिटौलाको सहभागिता भएको छ । मण्डिखाटारमा सुजाता कोइरालाले पौडेल र सिटौलालाई डाकेर सहमतिको प्रयास गरेकी थिइन् । यसले पनि काँग्रेस वृत्तमा तरंग आएको थियो । पौडेल र सिटौला मिलेर बढ्ने मौखिक सहमति गरेका थिए ।
पौडेल समूहका नेताहरुलाई एकढिक्का बनाउन अर्जुननरसिंह केसीले वत्तीसपुतलीमा आज भेला डाकेका छन् । भेलामा सभापतिका आकांक्षी पौडेल समूहका नेताहरु सहभागी थिए । बैठकमा सिटौलाको प्रवेशले तरंग ल्याएको छ ।
१३औं महाधिवेशन अघि एउटै समूहमा रहेका पौडेल र सिटौला एक अर्काविरुद्ध सभापतिमा उम्मेदवार बनेका थिए । उनीहरु उठदा शेरबहादुर देउवालाई सभापति बन्न सहयोग पुगेको थियो । देउवाले दोस्रो चरणमा पौडेललाई पराजित गरेका थिए ।
यसपटक देउवाको विकल्प खोज्न पौडेल र सिटौला एकजुट हुने प्रयासमा लागेका छन् । तर, पौडेललाई आफ्नै समूह जोगाउन चुनौती बनेको छ । महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, सुजाता कोइराला, डा. रामशरण महत र अर्जुननरसिंह केसी सभापतिका दाबेदार देखिएका छन् । उनीहरुलाई मिलाएर जाने चुनौतीसँगै पौडेलले सिटौलासँग शक्ति वाडफाड गरेर बढ्न खोजेका छन् ।