Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश संसदीय दलको नेताबाट कृष्ण थापालाई हटायो

civilbank long ad

काठमाडौं ।  राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई कारबाही गरेको छ । नेपाली कांग्रेस नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर गर्न दिएको पार्टी निर्देशन पालना नगरेको भन्दै राष्ट्रिय जनमोर्चाले थापालाई कारबाही गरेको हो ।

पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएको भन्दै जनमोर्चाले थापालाई संसदीय दलको नेताबाट हटाएको हो । जनमोर्चाले संसदीय दलको नेताबाट हटाइएको पत्र प्रदेशसभा सचिवालयलाई पठाएको छ ।

यही वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । त्यस समय आज दिउँसो ४ बजे सकिँदै छ ।

यस अघि मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताले नयाँ सरकार गठनका लागि ३१ सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने प्रयास गरेका थिए ।

अविश्वासको प्रस्तावका पक्षमा समर्थन गर्ने निर्णय गरेको जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न नमान्दा कांग्रेससहितका दललाई समस्या परेको छ ।

३१ सदस्य पुग्नका लागि राष्ट्रिय जनमोर्चाका तीन प्रदेशसभा सदस्यको हस्ताक्षर अनिवार्य चाहिन्छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा एमालेका २७ छन् भने एकजना स्वतन्त्र सांसद राजीव गुरुङ एमालेकै पक्षमा रहनुभएको छ ।

त्यस्तै नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका सभामुख सहित १२, राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई प्रदेश सभा सदस्य रहेका छन् । बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज दिउँसो ४ बजेसम्म दलहरूले बहुमत सहित दाबी गर्न नसकेको अवस्थामा अल्पमतको सरकार बन्नेछ ।


२९ वैशाख २०७८, बुधवार १५:४० बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad