विभाग विघटन गर्न महेश आचार्य काे माग
काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले सभापति शेर बहादुर देउवालाई विभाग विघटन गर्न आग्रह गर्दै पार्टीमा ध्यानाकर्षण पत्र दर्ता गरेका छन ।
आचार्यले पत्रमा भनेका छन- तपाईंबाट गरिएका विभाग गठन लगायतका पार्टी समायोजन,कृयाशील सदस्यता सम्बन्धी पछिल्ला केहि निर्णयहरु पार्टी विधान विपरीत र गम्भीर विवाद सिर्जनागर्ने ढंगका देखिए । यिनलाई सच्याएर सम्पुर्ण पार्टीपंक्तीलाई एकताबध्द गराएर महाधिवेशनतर्फ लैजाने दायित्व निर्वाह गर्न हार्दिक अनुरोध गर्दछु।
आचार्यले अगाडि भनेका छन-
१) हाम्रो विधानको दफा ६० ले पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग / समिति / विभिन्न निकायहरु महाधिवेशन सम्पन्न भएको ६ महिना भित्र गठन गरि सक्नु पर्नेछ भन्ने समयको बाध्यकारी व्यवस्था गरेको छ।
आफ्नो ४ बर्षको कार्यकालमा गठन नगरिएको विभाग विशेष परिस्थिति देखाइ महाधिवेशन सम्पन्न गर्न थपिएको एक बर्षको पनि आधा अवधि गुजारेर महाधिवेशनको मुखमा गठन गर्नु विधानको भावना र मर्मको गंभीर उलंघन हो।
२) विधानको दफा ३७ (१) ञ ले विभागले प्रत्येक ६ महिनामा कार्यसम्पादन प्रगति प्रतिवेदन केन्द्रीय कार्यसमितिमा बुझाउनु पर्नेछ भनेको छ। ६ महिनाको कार्यकाल पनि बाँकी नहुने अहिले गठन गरिएका विभागले महाधिवेशनको तीब्र चटारोमा कहिले अफ्ना कार्ययोजना बनाउलान, कहिले देशको समसामयिक मुद्दामा छलफल गर्लान, कहिले आफ्ना सुझाव र प्रगति प्रतिवेदन केन्द्रीय समितिलाई देलान अनि म्याद गुज्रिएको केन्द्रीय समितिले कहिले सुझाव कार्यान्वयन गर्ला ? यो कुराको हेक्का नराखी गठन हुने विभागले संगठन बलियो हैन, पार्टीभित्र विवाद र गुटबन्दीलाई उत्कर्षमा पुगाउँछ। हाम्रो पार्टीका हजाराै साथीलाई र तिनको प्रतिभालाई गुटबन्दीको स्वार्थ र दलदलमा नचाहँदा नचाहँदै फसाउने छ ।
३ )विधानको दफा २४ (३)ले विभागको कामको समीक्षा गर्ने अधिकार केन्द्रीय कार्य सम्पादन समितिलाइ दिएको छ।तर दुर्भाग्यबस सभापतिजीले कार्य सम्पादन समिति समेत बनाउन सक्नु भएको छैन । विभाग गठन हुने तर विभागको कामको समीक्षा गर्ने अधिकार पाएको समिति नहुने अवस्था के संगठन बलियो बनाउने संकल्प मान्न सकिन्छ र ?
४) विधानको दफा ४ (१०)ञ ले महाधिवेशनको ६ महिना अघि कृयाशील सदस्यता पाएको र नविकरण गरेको सदस्यले मात्र महाधिवेशनमा मतदान र उम्मेदवार हुन पाउने व्यवस्था गरेको छ।
विधानको दफा ५० (६) मा पनि महाधिवेशन भन्दा ६ महिना अघि नै कृयाशील सदस्यता र नविकरण गरेकाले मात्र उम्मेदवार हुन पाउने कुरा संगै महाधिवेशनको ६ महिना अघि नया कृयाशील सदस्यता वितरण र नविकरणको काम बन्द गर्ने व्यवस्था गरेको छ ।
यि दुबै व्यवस्था द्वारा विधानले पार्टी पदाधिकारीलाई महाधिवेशनको मुखमा आफुखुसी सदस्यता वितरण र नविकरण गरी महाधिवेशनलाई प्रभावित पार्न सक्ने संभावनाबाट रोकेको छ।
विधानमा यो व्यवस्था त्यसै आएको होइन पुराना अनुभवका कारणबाट आएको हो। यसरी विधानले महाधिवेशनको मुखमा कृयाशील वितरण र नविकरण जस्ता संगठनका आधारभुत कार्यलाई समेत रोकेर महाधिवेशनको निस्पक्षता प्रत्याभुत गर्न चाहेको मर्म विपरीत तोकिएको काम गर्ने समय र संभावना नै नभएको अवस्थामा हजाराैको संख्यामा साथीहरुलाई विभाग र समितिमा गरिएको नियुक्तिको वैधता र ओैचित्य कसरि पुष्टि हुन सक्छ ?
आदरणीय सभापतिजी, यस वाहेक जुन महाधिवेशनले तपाईंलाई सभापतिमा निर्वाचित गर्यो त्यही महाधिवेशनले निर्वाचित गरेको महामन्त्री, कोषाध्यक्ष र ठुलो संख्यामा केन्द्रीय सदस्य असहमत हुदा हुदै गरिएको निर्णयको सांगठनिक महत्व र प्रभावकारिता कति होला ?
५) हाम्रो विधानको दफा ५१ (१) ले महाधिवेशनमा निर्वाचित सभापतिले ४० जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्न पाउने व्यवस्था छ।
तर विचारणीय कुरा के छ भने यहि दफाले यस्ता प्रतिनिधिको कार्यकाल नया महाधिवेशनको प्रक्रिया प्रारम्भ भए पछि स्वत: समाप्त हुने व्यवस्था गरेको छ। यो प्रावधानको आशय पनि सभापतिद्वारा मनोनित प्रतिनिधिबाट निर्वाचन प्रभावित नहोस भन्नेनै हो ।
६) पार्टी विधानको दफा ५० (८) का अनुसार पार्टीको कुनै पनि तहको सभापतिको मृत्यु भई वा राजीनामाका कारण पद रिक्त भएमा कार्यवाहक सभापति बनाउने र ६ महिना भित्र अधिवेशन द्वारा सभापति चयन गर्ने विधि छ। तर महाधिवेशनको प्रक्रिया प्रारम्भ भएको अवस्थामा भने सभापतिको चुनाव समेत गर्नु पर्दैन,गर्न मिल्दैन र नयाँ महाधिवेशनले नै सभापति चुन्छ ।
आदरणीय सभापतिजी, महाधिवेशनको प्रक्रिया सुरु भए पछि माथी उल्लेखित विधानले गर्न रोकेका काम, विभिन्न निकायको कार्यकाल सम्वन्धी व्यवस्था र निस्पक्ष निर्वाचनका मान्यताहरुको पालना हामीले आफ्नै पार्टी भित्र गर्न सकेनाैभने हामीले वर्तमान कम्युनिष्ट सरकारको स्वेच्छाचारीताका विरुध्द जनता परिचालन गर्ने नैतिक बल गुमाउनेछाै ।
महाधिवेशनमा दिशाहिनता , चरम गुटबन्दी र अनुशासनहिनताले प्रश्रय पायो भने संघर्ष, समर्पण र शहादतबाट बनेको हाम्रो पार्टी र साथीहरुको विशाल पंक्तीका सामु हामी अपराधी प्रमाणित हुनेछाै। सभापतिजी मैले भरसक आफूलाई र आफ्नो विवेकलाई कहिल्यै गुटको बन्दी बनाईन, अपमान र उपेक्षा मंजुर गरे तर सधैं पार्टीहित र एकताको पक्षमा काम गरे। यहि नैतिक बलमा उभ्भिएर सार्वजनिक रुपमा तपाईलाई सम्बोधन गर्दै यो पत्र लेख्दैछु।
यो पत्र लेख्न बस्दा तपाईप्रति मेरो कुनै दुर्भावना छैन केवल हाम्रो पार्टीको भविष्य,भूमिका र एकता प्रतिको मेरो चिन्ता अभिव्यक्त छ जुन पार्टी बनाउन तपाई स्वयंको जीवन र जवानी समर्पित रह्यो।























