कांग्रेसको संसदीय दलको बैठक बस्दै
संसदीय समिति नबनेसम्म सदन चल्न नदिने अडानमै
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ९ सिंहदरवारमा बस्ने छ । हिजो बस्ने भनिएको बैठक आजका लागि सारिएको हो । संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसद अवरोध गर्दै आएको छ ।
सरकारले समिति बनाउन सहमति जनाए सदन अवरोध नगर्ने बताउदै आएको कांग्रेसले सरकारको निर्णय पखेर बसेको छ ।
समिति बनेन भने सदनमा झन् सशक्त बन्ने बताउदै आएको कांग्रेसले सरकारको नीति तथा कार्यक्रम पेस गर्न नदिने सम्मको निर्णय गर्न सक्ने एक नेताले बताए ।
सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदका दुवै बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ ।
सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै आएको कांग्रेसले छानबिनका निम्ति संसदीय समिति गठन नभए नीति तथा कार्यक्रम पेस गर्न नदिने निर्णय गर्ने चेतावनी दिँदै आएको छ । आजको बैठक यसै विषयमा केन्द्रित हुने छ ।