अध्यक्ष नेपाललाई भेट्न सभापति देउवा कोटेश्वरमा
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने/नहुने विषयलाई टुङ्गो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बुधबार बिहान ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम लगायत विविध विषयमा छलफल हुने पार्टीको केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।
पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणको विकास भएपछि नेपका (माओवादी केन्द्र ) र नेकपा (एमाले) ले एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ ।
बैठकमा पार्टीले सत्ता समीकरणको उद्देश्य, निर्णय र प्रक्रियाबारे जानकारी लिने र दृष्टिकोण तय गर्ने सचिव श्रेष्ठले बताउनुभयो ।
यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको छ ।
पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न देउवा अध्यक्ष नेपालको निवास कोटेश्वरमा पुग्नुभएको हो ।
राजनीतिक समीकरण बदलिएको बेलामा सभापति देउवा र नेपालबिचको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
हिजो राति प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।