मेलम्चीको जडान भएको पाइपको क्षमतामाथि समितिमा प्रश्न
काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले मेलम्चीको पानी वितरणका लागि जडान भएका पाइपको प्राविधिक क्षमता विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
बुधबार बसेको समिति बैठकले पुराना पाइप जीर्ण अवस्थामा रहेको भन्दै नयाँ जोडिएका पाइपहरुको प्राविधि क्षमता विवरण उपलव्ध गराउन खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी बिकास समितिलाई निर्देशन दिएको हो ।
बैठकले स्थानीयको समस्या समाधान गरी निर्वाध रुपमा मेलम्ची सञ्चालन हुने व्यवस्था मिलाउन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति कल्याणी खड्काले बताउनु भयो ।
बैठकमा खानेपानीमन्त्री बिना मगरले असार मसान्तमा मेलम्चीको पानी सुन्दरीजलसम्म आइपुग्ने दोहो¥याउनुभयो । अस्थायी डाइभर्सनका लागि आवश्यक भौतिक पूर्वाधारको काम ९९ प्रतिशत सकिएको उहाँले जानकारी दिनुभयो ।
बैठकमा सांसदहरुले लामो समयदेखि मेलम्चीको पानी आउने चर्चा चलेपनि अझैपनि ल्याउन नसक्नुले जनता निराश भएको बताएका थिए । उनीहरुले मेलम्ची आउन ढिलाई भएको कारणबारे प्रश्न गरेका थिए ।
त्यस्तै मेलम्ची खानेपानी बिकास समितिका प्रतिनिधिहरुले सुरुङ र पानी प्रशोधन केन्द्रबीचको पाइप जडानको १० प्रतिशत काम बाँकी रहेको जानकारी गराएका थिए ।



























