नेपाली काँग्रेसको जारी महासमिति बैठक आज बिहान ९ बजेदेखि
काठमाडौं । सोमबार दिउँसो ललितपुरको गोदावरीमा उद्घाटन भएको नेपाली काँग्रेसको महासमिति बैठक आज बिहान ९ बजेबाट सुरु हुने जनाइएको छ ।
सांगठनिक प्रतिवेदनमा विवाद भएपछि उद्घाटन सत्रपछि बैठक रोकिएको थियो । महासमिति बैठकमा आजबाट बन्दसत्र सुरु हुँदैछ ।
प्रतिवेदनमा भएको विवादपछि काँग्रेसको महासमिति बैठकको कार्यतालिका प्रभावित भएको छ । चुनावमा गठबन्धन गर्न नहुने महामन्त्री गगन थापाको सांगठनिक प्रतिवदेनमा असहमति जनाउँदै सभापति शेरबहादुर देउवाले बन्दसत्रको तालिका सारेर पदाधिकारीसँग छलफल गर्नुभएको हो ।
महासमिति बैठकको उद्घाटनका क्रममा पार्टीका सभापति देउवाले चुनावी गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय परिस्थितिमा भरपर्ने बताउनु भएको थियो ।
वर्तमान गठबन्धनका बारेमा टिप्पणी गर्ने बेला नभएको बताउँदै देउवाले शासकीय स्वरुपबाहेक अरु विषयमा संविधान संशोधनका लागि छलफल गर्न सकिने बताउनुभयो ।
तर पछि महामन्त्री गगन थापाको प्रस्तावमा सभापति देउवा सहमत हुनुभएको जनाइएको छ । अब आगामी चुनावमा काँग्रेसको चुनाव चिन्हमा मात्रै भोट हाल्ने थापाको प्रस्तावमा सभापति देउवा सहमत हुनु भएको हो ।
यसका लागि सोमबार राती देउवाको बूढानीलकण्ठस्थित निवासमा लामो छलफल भएको बताइएको छ । १० गतेसम्म चल्ने काँग्रेसको महासमिति बैठकमा झण्डै २२ सय प्रतिनिधि सहभागी छन् ।