प्रतिनिधि सभाबाट सर्वसम्मतिले संविधान संशोधन विधेयक स्वीकृत

आर्थिक सञ्जाल
काठमाडौं । नेपालको संविधान दोस्रो संशोधन विधेयक संशोधन निशाना छापमा रहेको नक्सालाई अद्यावधिक गर्न ल्याईएको प्रक्रियाका लागि सर्वसम्मत अनुमोदन भएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेको प्रस्तावमा विधेयक संशोधन प्रक्रियाका लागि अनुमोदन भएको हो ।
सैद्धान्तिक छलफलका क्रममा संविधान संशोधन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री तुम्बाहाङ्फेले सत्तापक्ष र प्रतिपक्षी दलले एकै स्वरले संशोधनप्रति समर्थन गरेकामा खुसी व्यक्त गरेकी थिइन् ।
विधेयक अनुमोदन भएसँगै अब सांसदहरूले विधेयकमाथि संशोधन दर्ता गराउन पाउनेछन् । प्रतिनिधि सभा नियमावलीअनुसार संशोधनका लागि ७२ घण्टाको समय हुनेछ । संशोधन प्राप्त भएपछि सभामुखद्वारा प्रमाणित गरेर पुनः सदनमै पेस हुनेछ ।
आवश्यकता अनुसार प्रतिनिधि सभाले संशोधन विधेयकमा दफावार छलफलका लागि विशेष समितिसमेत गठन गर्न सक्नेछ । विशेष समिति गठन नगरी प्रतिनिधि सभामा नै दफावार छलफल र पारितको प्रक्रिया प्रारम्भ पनि हुन सक्नेछ ।