stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

१० हजार भेन्टिलेटर ‘स्ट्यान्डबाई’ राख्न सुझाव

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । नेपालमा आगामी तीन महिनासम्म कोरोना भाइरस संक्रमणको दर अझै बढ्ने र संक्रमित गम्भीर अवस्थामा पुग्न सक्ने भएकाले कम्तीमा १० हजार भेन्टिलेटर स्ट्यान्डबाई राख्नुपर्ने स्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा चिकित्सकले सरकारलाई सुझाव दिएका छन् ।

अहिले देशभरमा १ हजार ५ सय ९५ आइसीयू बेड र ८ सय ४० वटा भेन्टिलेटर मात्रै छन् । पछिल्लो समयमा नेपालमा कोरोना भाइरस संक्रमणको दर एक्कासि बढ्दै जान थालेकाले यसले भयावह रूप लिन सक्ने भन्दै सरकारले विशेष सतर्कता अपनाउनुपर्नेमा अनुसन्धानकर्ताले जोड दिएका हुन् ।

चीनको योङ्ची मेडिकल कलेज वुहानका रिसर्च स्कलर डा. रमेश आचार्यले नेपालमा आगामी तीन महिना (जुन, जुलाई र अगस्ट)मा जोखिम अझै बढेर जान सक्ने र भेन्टिलेटरको अभावमा मृत्युदर बढ्न सक्ने भन्दै कम्तिमा १० हजार भेन्टिरलेटर स्ट्यान्डबाई अवस्थामा राख्नुपर्ने सुझाव दिएका छन् ।

‘भारतसँगको सीमा नाका व्यवस्थापन गर्न नसक्दा हजारांैको संख्यामा संक्रमित नेपाल भित्रिसकेका छन्, उनीहरूकै कारण नेपालमा जोखिम अझै बढेर जाने देखिएको छ,’ डा. आचार्यले राजधानीसँग भने ।

– १० हजार चिकित्सक र ५० हजार नर्स तयारी अवस्थामा राख्नुपर्ने
– नेपालमा जुन, जुलाई र अगस्ट थप चुनौतीपूर्ण
– सयवटा पीसीआर मेसिन अत्यावश्यक
– ७७ वटै जिल्लालाई ‘हाइरिस्क जोन’मा राख्नुपर्ने
– भारतबाट अझै २ लाख फर्कन सक्ने

‘नेपालका लागि आगामी जुन, जुलाई र अगस्ट अत्यधिक चुनौतीपूर्ण छ । सरकारी निकायले रातदिन नभनी परिणाम निस्कने गरी काम गर्नुपर्छ,’ वुहानदेखि नै कोरोना भाइरसको जोखिम र बच्ने उपायबारे अध्ययन गर्दै आइरहेका डा. आचार्यले भने ।

आचार्यले संक्रमणसँग जुध्ने सरकारको हालको तयारी निकै फितलो भएको बताउँदै सरकारले अहिलको जस्तै काम चलाउ तयारी गरेमा आगामी तीन साताभित्र स्थिति नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिए ।

‘फितलो सतर्कता, ट्रेसिङ र टेस्टिङ प्रभावकारी हुन नसक्दा समस्या झनै बढेर गएको छ,’ आचार्यले भने । डा. आचार्यले भावी संकटबाट बच्न कम्तीमा १० हजार चिकित्सक, ५० हजार नर्स, ढेड लाखको संख्यामा युवा स्वयंसेवी आवश्यक पर्ने बताए ।

आचार्यले सीमा क्षेत्रमा तत्काल अस्थायी अस्पताल बनाउनुपर्ने बताए । अनुसन्धाताका अनुसार नेपालमा कम्तिमा सयवटा पीसीआर मेसिनबाट टेस्ट विस्तार गर्नुपर्छ । भारतीय सीमा क्षेत्र जोडिएका जिल्लामा कम्तिमा ५० हजार पीसीआर टेस्ट र १ लाख आरडीटी टेस्ट गर्नुपर्छ ।

डा. आचार्यले अब ७७ वटै जिल्लालाई हाई रिस्क जोनमा राखी सबै किसिमका सुरक्षा विधि अपनाउन आवश्यक रहेको बताए । आचार्यले विगत तीन साताको समयमा भारतबाट १ लाख १९ हजार नेपाली स्वदेश फिर्ता भइसकेको र उनीहरुलाई व्यवस्थित क्वारेन्टिनमा राख्न नसकिएकाले समस्याले विकराल रूप लिइरहेको बताए ।

‘अबको एक महिनाभित्र ढेडदेखि २ लाख नेपालीहरु भारतबाट आउने विभिन्न अध्ययनले देखाएको छ । उनीहरुको व्यवस्थापन हुन नसके स्थिति झनै भयावह हुनेछ,’ डा. आचार्यले भने ।

नेपाल ल्याइने व्यक्तिलाई के गर्ने ?
सरकारले विभिन्न देशमा गएका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ । सोअनुसार पहिलो चरणमा झन्डै २५ हजारलाई फर्काउने तयारीसमेत गरिसकेको छ । डा. आचार्यले विदेशबाट आउनेलाई दुई साताभित्रै ल्याइसक्नुपर्ने बताए ।

‘उनीहरूलाई नेपाल आइसकेपछि दोस्रो दिनदेखि नै पीसीआर टेस्ट गर्ने तथा २८ दिन क्वारेन्टिनमा राख्नुपर्छ,’ डा. आचार्यले राजधानीसँग भने, ‘क्वारेन्टिनमा राखे पनि प्रत्येक हप्ता टेस्ट गर्नुपर्छ ।’

डा. आचार्यले विदेशमा बसेकालाई सम्बन्धित देशको दूतावासमार्फत दुई साताको समय दिने र सो समयभित्र नआएमा नेपाल फिर्ता गर्न नहुने बताए ।

स्थानीय तहमा के गर्ने ?
डा. आचार्यले कोरोना जोखिम न्यूनीकरणमा स्थानीय तहको महŒवपूर्ण भूमिका हुने बताए । उनले स्थानीय तहको जनसंख्या, क्षमता र बाहिरबाट आएका मानिसको अवस्था हेरेर स्थानीय तहमा २५ बेडको आईसीयू सुविधासहितको अस्पताल निर्माण गर्न जरुरी रहेको जनाए ।

उनले देशैभरका सबै सरकारी अस्पतालमा कम्तिमा १ सय बेड थप गर्ने र सबै जिल्लामा सरुवा रोग अस्पताल निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्न सुझाव दिए ।

जोखिमबाट बच्न डा. आचार्यका सुझाव

– देशैभर प्रेसर, सुगर, दम र मिर्गौलाका रोगीको पहिचान गरी आइसोलेसनमा राख्न लगाउने
– अस्पतालमा आउने सबै प्रकारका रोगीको पीसीआर टेस्ट नगरी अस्पताल भर्ना नगर्ने
–पीसीआर रिपोर्टबिना एक जिल्लाबाट अर्को जिल्लामा जान नदिने
– क्वारेन्टिनबाट भाग्नेलाई कम्तीमा तीन महिना जेल राख्ने नियम बनाउने
– देशैभर क्वारेन्टिनमा भएका व्यक्तिमा प्रत्येक दिन ज्वरो, प्रेसर र दम भए–नभएको रेकर्ड राख्ने
– कम्तीमा २० हजार स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई ट्रेनिङ दिई ट्र्याकिङ, ट्रेसिङ र टेस्टिङमा खटाउनुपर्ने

आजको राजधानी दैनिकबाट

prabhu mahalaxmi
kumari bank
kumari