stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

कोरोना संक्रमणका दृष्टिले काठमाडौं उपत्यका जोखिममा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ९ गते शुक्रबार

काठमाडौं । कोरोना भाइरस संक्रमणको दृष्टिले काठमाडौं उपत्यका जोखिममा रहेको पाइएको छ । जनस्वास्थ्य विज्ञ र सरुवा रोग विशेषज्ञहरू काठमाडौं उपत्यका जोखिममा रहेको भन्दै बन्दाबन्दी (लकडाउन) पूर्ण कार्यान्वयन हुनुपर्ने बताउँछन् । कोरोना परीक्षणको दायरा फराकिलो नहुनु, काठमाडौं उपत्यकासँग जोडिएका नाकामा आवतजावत नरोकिनु र लकडाउन पूर्ण रूपमा कार्यान्वयन नहुनुले काठमाडौं उपत्यका जोखिममा रहेको उनीहरूको भनाइ छ । अहिले पनि संक्रमित जिल्लाबाट व्यक्ति भित्रिने क्रम रोकिएको छैन ।

घरबेटीले प्रवेश गर्न नदिएको भन्दै दैनिक ५० बढी व्यक्ति कोरोना परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्ने गर्छन् । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले काठमाडौंमा जनसंख्या अत्यधिक रहेको र फैलिए धान्न नसकिने भन्दै परीक्षण दायरा यथाशीघ्र बढाउनुपर्ने बताए ।

उनले भने, ‘काठमाडौं उपत्यका जोडिएका नाका तत्काल सिल गर्नुपर्छ । रातको समयमा अनुमति लिएर भित्रिने सवारी साधनका चालक र सहचालकको आरडीटी टेस्ट गरेर भित्र प्रवेश दिनुपर्छ ।’ अहिले पनि लकडाउनको समयमा बिहान र बेलुका काठमाडौं उपत्यकाभित्र भीड हुने भन्दै भित्री गल्लीमा प्रहरीको गस्ती बढाउनुपर्ने उनले बताए ।

संक्रमित भएको पुष्टि भए स्वास्थ्य मन्त्रालयले हाल बसोबास गर्दै आएको ठेगाना र काम गर्दै आएको स्थानको पहिचान नखुलाउँदा पनि अधिकांश जिल्लाका भनिएका संक्रमित हाल काठमाडौं बस्दै आएको पाइएको छ ।

संक्रामक तथा सरुवा रोग अनुसन्धान विशेषज्ञ प्राडा. जीवनबहादुर शेरचनले काठमाडौं जोखिममा रहेको भन्दै संक्रमित व्यक्तिसँग सम्पर्कमा आएकाहरूको कन्ट्र्याक्ट ट्रेसिङ बढाउनुपर्ने बताए । उनले भने, ‘काठमाडौं उपत्यका भित्रिएका व्यक्तिको पहिचान गरी परीक्षणको दायरा बढाउनुपर्छ । त्यसका लागि सम्बन्धित वडाले क्रियाशीलता देखाउनुपर्छ ।’

काठमाडौं उपत्यकामा हालसम्म १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । काठमाडौंमा १०, ललितपुरमा ३ र भक्तपुरमा एक जनामा संक्रमण पुष्टि भएको बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये सात जना निको भएर घर फर्किएका छन् भने सात जना उपचाररत छन् ।

हालसम्म उपत्यकाभित्र बस्दै आएका ३ हजार ८ सय ४९ जनामा आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । काठमाडौंमा १ हजार ८ सय ३४, ललितपुरमा १ हजार ३ सय २९ र भक्तपुरमा ६ सय ८९ जनाको परीक्षण गरिएको छ, जसमध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

उपचाररत संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । काठमाडौं उपत्यकामा ३ सय ९० वटा आइसोलेसन वार्ड छन् भने १ हजार २ सय ४९ वटा क्वारेन्टिन तयारी अवस्थामा छन् । क्वारेन्टिनमा दुई जना बसेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पाँच जनालाई आइसोलेसनमा राखिएको छ । यसैबिच, गृह मन्त्रालयले परिपत्र पठाउँदै लकडाउन अवधिभर अत्यावश्यकबाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

नेपालमा हालसम्म संक्रमितको संख्या ४ सय ५४ पुगेको छ । संक्रमितमध्ये पुरुष ३ सय ८४ र महिला ६९ रहेका छन् । देशभर २३ हजार २ सय २ जना क्वारेन्टिनमा बस्दै आएका छन् । हालसम्म ४९ जना निको भएर फर्किएका छन् । आजको राजधानी दैनिकबाट

prabhu mahalaxmi
kumari bank
kumari