stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपाली चलचित्र २०७६ साल विवाहले बढी चर्चा पायो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

सञ्जाल २०७७ वैशाख १३ गते शनिबार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०७६ औसत रह्यो । यस वर्ष चलचित्रले भन्दा कलाकारको विवाहले बढी चर्चा पायो । अघिल्लो वर्षको तुलनामा निकै कम नेपाली चलचित्र प्रदर्शनमा आए । केहीे मात्र दर्शकको रोजाइमा परे । दर्शकको मन जित्न सफल भएको चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ लाई कोरोनाको असरले हलमा टिक्न दिएन । अघिल्लो वर्ष ९६ वटा चलचित्र प्रदर्शनमा आएका थिए ।

२०७६ मा ५५ वटा मात्र प्रदर्शित भए । प्रदर्शन गर्ने भनिएका केही सिक्वेल फिल्म र कमेडी फिल्म कोरोनाका कारण प्रदर्शनमा आउन सकेनन् । समग्रमा भन्दा यो वर्ष केही सिक्वेल, केही कमेडी फिल्मले मात्रै लगानी उठाए । ‘दाल भात तरकारी’, ‘कबड्डी कबड्डी कबड्डी’, ‘जात्रै जात्रा’, ‘छ माया छपक्कै’, ‘घर’, ‘आमा’ र सेन्टी भाइरस’ले यस वर्षका लगानी उठाए ।

‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ ले लगानी उठाउँदै केही हदसम्म समीक्षकका साथ पनि पायो । यही फिल्मले विपिन कार्की र वर्षा राउतलाई सफल कलाकारका रूपमा उभ्यायो । सरकारले कोरोनाको नियन्त्रणका लागि देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेसँगै फागुनको अन्तिम र चैतमा प्रदर्शन हुने भनिएका झन्डै आधा दर्जन फिल्मको प्रदर्शन स्थगित भयो । कोरोनाका कारण सुदर्शन थापा निर्देशित ‘म यस्तो गीत गाउछु २’, फूलमान वलको ‘नीर फूल’, सन्तोष सेनको ‘प्रेम गीत ३’, निकेश खड्काको ‘चपली हाइट ३’, शिवहरि पौडेलको ‘लक्का जवान’ लगायतका फिल्मको प्रदर्शन स्थगित भयो ।

कोरोनाको कहरले फिल्मको प्रदर्शन मात्र नभएर छायाङ्कन पनि प्रभावित भयो । फिल्म ‘ए मेरो हजुर ४’ र ‘दुई नम्बरी’ लगायतको फिल्मको छायाङ्कन स्थगित गरियो । पोस्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको चलचित्र ‘सेल्फी किङ’ लाई दर्शकले नरुचाएको समीक्षकको निष्कर्ष छ ।

 

 

यस्तै विराज भट्टको फिल्म ‘साङ्लो’, अभिनेत्री नम्रता श्रेष्ठ फिल्म ‘जाइरा’, अशोक शर्माको ‘रातो टीका निधार’ले पनि आफ्नो आम्दानी उठाउन सकेनन् । गत वर्षको जस्तै हाँस्य चलचित्रले र सिक्वेलले नै बढी प्राथमिकता पायो । जसमध्ये कतिपय फिल्मबारे त दर्शकले रिलिज भएको पत्तोसमेत पाएनन् । रातो गलबन्दी, काउसो, रेस, सानो मन, काँचुली, सुपर गोर्खेलगायतका थुप्रै फिल्मको चर्चा भएन ।

चलचित्र उद्योगले सफलता प्राप्त गर्न नसके पनि कलाकारको भने नयाँ जीवन सुरु भएको छ । वर्ष २०७६ लाई कलाकारको विवाहको वर्षका रूपमा लिन सकिन्छ । प्रेममा रहेका धेरै जोडीले यो वर्ष १० जोडीले विवाह गरे । दीपिका प्रसाईं र दिवाकर भट्टराईले वर्षको सुरुवातमा नै आफ्नो प्रेमलाई विवाहको नाम दिए ।

कोरियोग्राफर तथा निर्देशक रेनाशा बान्तवा राईले निर्माता तथा फिल्महल सञ्चालक प्रज्ज्वलशमशेर जबरासँंग विवाह गरिन् । सञ्चारकर्मी रवि लामिछाने र फिल्मकर्मी निकिता पौडेलबीच पनि विवाह भयो । अभिनेत्री कृति भट्टराईले यसै वर्ष लगनगाँठो कसिन् । उनले इन्जिनियर रोहित पौडेलसँग पारिवारिक जमघटकाबीच विवाह गरिन्  ।

भाइरल तरकारीवाली कुसुम श्रेष्ठले समेत यही वर्ष लगनगाँठो जुराइन् । चलचित्र ‘लम्फु’ मा काम गरेकी उनले राजन श्रेष्ठसँग विवाह गरिन् । अभिनेत्री ऋचा शर्माले प्रेमी दिपेश बिक्रम राणासँग, सोल्टिनी नामले परिचित रिश्मा गुरुङ र सन्दीप गुरुङले पनि वैवाहिक जीवन सुरु गरे । कलाकार विजय बराल र प्रमिला खनाल, आयुष्मान देशराज जोशी र प्रियङ्का कार्की, आँचल शर्मा र उदिप श्रेष्ठबीच विवाह भयो ।आर्थिक
आजको गोरखापत्र दैनिकबाट

 

prabhu mahalaxmi
kumari bank
kumari