ग्यास लुकाउने १५ वटा ग्यास पसललाई कारबाही
काठमाडौं । ग्यासको कृत्रिम अभाव गर्ने व्यापारी विरुद्ध कारबाही हुन थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो साता ग्यास लुुकाएको गुुनासोका आधारमा अनुुगमन गरेर ग्यास लुकाउने १५ वटा ग्यास पसललाई कारबाही गरेको हो ।
कारबाही गरिएकामध्ये आठवटा पसललाई आर्थिक जरिवाना गरिएको अरू ग्यास पसल सञ्चालकलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागका सूचना अधिकारी धनेश्वर पौडेलले जानकारी दिए।
ग्यास लुकाएको सूचनाका आधारमा अनुगमन गर्दा ग्यास पसल सञ्चालक कारबाहीमा परेका हुन् । कारबाहीमा पर्नेमध्ये अधिकांशले अनुगमनका क्रममा पसल बन्द गरेर असहयोग गरेको कसुरमा कारबाही गरिएको सूचना अधिकारी पौडेलले जानकारी दिए ।
विभागले बिहीबार काठमाडौँ महानगरपालिका–३२ मा रहेको खाद्य तथा ग्यास अनुुगमन गर्ने क्रममा ती पसलले ग्यास लुुकाएर उपभोक्तालाई नदिएको पाइएपछि २० हजार रुपियाँ जरिवाना गरिएको थियो । गोरखापत्र दैनिकबाट

























