citizens life insurance long ad
stcnepal long ad

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको सीआईबीको अनुसन्धान पूरा

१२६ रोपनी जग्गा हिनामिना तीन सयभन्दा बढीलाई कारबाहीको सिफारिस १२ अर्ब बिगो माग दाबी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुयाएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको ललिता निवासको १४३ रोपनी सरकारी जग्गामध्ये १२६ रोपनी जग्गा हिनामिना भएको निष्कर्ष सीआईबीको छ ।

ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारी जग्गा हिनामिनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । केही दिनमै प्रतिवेदन बुझाउने तयारीमा छौँ”, उहाँले भन्नुभयो । यस प्रकरणको अनुसन्धानको हदम्याद यही पुस २७ गते सकिँदै छ ।

उक्त समयभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्ने प्रावधानका कारण ब्युरोले यसै साता जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

सीआईबीले सरकारी जग्गा हिनामिनामा जोडिएका तीन सयभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चलाउन सिफारिस गर्ने तयारी गरेको जनाएको छ ।

तिनमा तत्कालीन सरकारी कर्मचारी र अन्य छन् । राजनीतिक नेतृत्वबारे भने सीआईबीले अनुसन्धान अगाडि बढाएको छैन । सीआईबीले १२६ रोपनी जग्गा हिनामिना हुँदा १२ अर्ब नौ करोड ६० लाख रुपियाँ सरकारी नोक्सानी भएकाले उक्त रकमको बिगो दाबी गर्ने तयारी गरेको छ ।

सीआईबीका अनुसार तत्कालीन भूमिसुधार मन्त्रालयका सचिवद्वय छविराज पन्त र दिनेशहरि अधिकारी एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तत्कालीन सचिवका हैसियतमा दीप बस्न्यात, सहसचिव गेहनाथ भण्डारी लगायतका कर्मचारीलाई कारबाहीको सिफारिस गर्ने तयारी छ ।

यसैगरी मालपोत कार्यालय, नापी कार्यालय, गुठी संस्थान, वडा कार्यालयलगायत निकायका कर्मचारी, भूमि व्यवस्था तथा अभिलेख विभागका पूर्वअधिकारी र भूमि सुधार मन्त्रालयका तत्कालीन कर्मचारीमाथि समेत कारबाहीको सिफारिस गर्ने तयारी ब्युरोले गरेको छ ।

सरकारी जग्गा हिनामिनामा बिचौलिया तथा जग्गा किनबेचबाट आर्थिक लाभ लिएकालाई समेत कारबाहीको सिफारिस गर्ने तयारी छ ।

१२६ रोपनी जग्गा फिर्ता गर्नुपर्ने
ब्युरोले ललिता निवासको १४३ रोपनी जग्गामध्ये १२६ रोपनी जग्गा हिनामिना भएको निष्कर्ष निकालेको छ । सो जग्गामा बिचौलियाले प्लटिङ गर्दा सात रोपनी जग्गा सरकारी बाटो कायम भइसकेको छ ।

बाँकी १० रोपनी जग्गा केही व्यक्तिले फिर्ता गरेका छन् भने केही जग्गा प्रधानमन्त्री निवासको वैकल्पिक बाटो विस्तारका क्रममा काटिएको ब्युरोको निष्कर्ष छ । सीआईबीले ललिता निवास सरकारी जग्गाको मूल्याङ्कन प्रतिआना ६० लाख रुपियाँ कायम गरेको छ ।

काठमाडौँ महानगरपालिकाले तय गरेको न्यूनतम जग्गा मूल्यअनुसार प्रतिवादीहरूबाट १२ अर्ब नौ करोड ६० लाख रुपियाँ बिगो कायम गरिएको छ ।

अनुसन्धानबाट यस हिनामिना प्रकरणमा २०४९, २०६२, २०६६ र २०६९ मा गरी चार पटक कागजात किर्ते भएको खुलेको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ । चार पटक सरकारी कागजात किर्ते गरेर बिचौलियाहरूले सरकारको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गराएको ब्युरोको अनुसन्धानबाट खुलेको हो ।

तीन जना मात्र पक्राउ
यस प्रकरणमा तीन वर्षमा दुई सय जनाभन्दा बढीलाई पक्राउ पुर्जी जारी भइसकेको छ तर ब्युरोले तीन जनालाई मात्र पक्राउ गरी बयान लिएको छ ।

पक्राउ पर्नेमा उक्त प्रकरणका मुख्य योजनाकारहरू रामकुमार सुवेदी, उनकी पत्नी माधवी सुवेदी र शोभाकान्त ढकाल छन् । ढकाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा मुद्दा दर्ता गरेपछि पुर्पक्षका लागि कारागारमा छन् ।

ललिता निवास हिनामिनामा धेरै जग्गा मीनबहादुर गुरुङ, सुवेदी दम्पती र ढकालका नाममा रहेको पाइएको छ । त्यसपछि कैलाश गोयल, श्रवण गोयल, शिव रतन शारडा र अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलगायत रहेको ब्युरोको निष्कर्ष छ ।

भाटभटेनी सुपर मार्केट्सका सञ्चालक गुरुङसँग ३६ रोपनी तथा ‘डीएफएल डेभलपर’ कम्पनीका मालिक गोयलको नाममा मात्र १६ रोपनी जग्गा रहेको अनुसन्धानबाट खुलेको छ । सुवेदी, ढकाल, गुरुङ र गोयलको नाममा मात्र ७५ रोपनीभन्दा बढी जग्गा रहेको पाइएको छ ।

टिकिन्छा गुठीको नाममा करिब पाँच रोपनी जग्गा रहेको खुलेको छ । बिचौलियाहरूले टिकिन्छा गुठीमार्फत नक्कली मोही खडा गरेर थप जग्गा हिनामिना गरेका थिए । यसैगरी गैरआवासीय नेपाली सङ्घको नाममा करिब दुई रोपनी जग्गा छ ।

सीआईबी स्रोतका अनुसार उक्त प्रकरणमा जोडिएका अधिकांश प्रतिवादी सम्पर्कविहीन छन् । हदम्याद सकिएपछि सो मुद्दा स्वतः निष्प्रभावी हुने भएकाले ब्युरोले उक्त प्रकरणमा जोडिएकामाथि सरकारी किर्तेअन्तर्गत मुद्दा चलाउन प्रतिवेदनमा सिफारिस गर्ने जनाएको छ ।

अख्तियारबाट बेग्लै मुद्दा
ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध बेग्लै मुद्दा दायर गरेको छ । २०७६ माघ २२ गते आयोगले ११० जनाविरुद्ध भ्रष्टाचार कसुरअन्तर्गत तथा ६५ जनाको नाममा रहेको जग्गा जफत गर्ने प्रयोजनका लागि विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

अख्तियारले दायर गरेको मुद्दामा पूर्व उपप्रधानमन्त्रीसहित दुई पूर्वमन्त्री, तीन पूर्वसचिवसहित तत्कालीन सरकारी कर्मचारी र जग्गा लेनदेनमा संलग्न विपक्षी रहेका थिए । उक्त मुद्दा अहिले विचाराधीन छ ।आजको गोरखापत्र दैनिकबाट

IME Life
kumari