citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

‘फेसलेस’ कर प्रणालीको बाटोमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

केही वर्षयता कर प्रणाली सुधारका सन्दर्भमा बारम्बार जोडिने शब्द हो, ‘फेसलेस’ । अर्थात् कर भुक्तानीकै लागि भौतिक रूपमा उपस्थित हुनुपर्ने अवस्थालाई सकेसम्म कम गर्ने । अर्कोतिर कर भुक्तानी प्रक्रियामा कार्यालयका कर्मचारीको अनुहार हेर्नु नपर्ने अवस्था ।

नागरिकले अनिवार्य दायित्वका रूपमा सरकारलाई तिर्नुपर्ने करकै लागि दिनभर कर कार्यालयमा बिताउनुपर्ने, झन्झटपूर्ण अवस्थाको सामना गर्नुपर्नेजस्ता विगतको बाध्यताको समाधानस्वरूप यो अवधारणा अगाडि ल्याइएको हो ।

यसले एकातिर कर कार्यालयमा हुने भीडभाड कम गराउँछ, अर्कोतिर सहजै कर तिर्न पाउने सुविधा उपलब्ध हुन्छ । यसले करदातालाई कर तिर्ने भावना जागृत गराउन सहयोग पु¥याउँछ । कर प्रक्रियामा करदातालाई सहजै समावेश हुने वातावरण सिर्जना गर्न फेसलेस कर प्रणाली उपयोगी मानिन्छ ।

फेसलेस कर प्रणाली निर्माणका सन्दर्भमा पछिल्लो समय केही उल्लेखनीय उपलब्धि हासिल भएका छन् । कर कार्यालयमा गरिएका संरचनात्मक सुधारले फेसलेसको अवधारणा कार्यान्वयनमा केही हदसम्म सहयोग पुगेको देखिन्छ । खासगरी डिजिटल प्रणालीको उपयोगले कर प्रक्रियामा व्यक्ति स्वयं उपस्थित हुनैपर्ने अवस्थालाई कम गराउँदै लगेको छ ।

त्यसैले पनि पछिल्लो समय अनलाइनबाटै कर प्रक्रियामा सहभागी हुने परिस्थिति निर्माणमा सरकारको जोड देखिन्छ । त्यसैको परिणाम अहिले अनलाइनबाटै सहजै कर तिर्न सम्भव भएको छ । लक्ष्यअनुसारको राजस्व सङ्कलनमा यस्ता सुधारले पनि सहयोग पु¥याएको देखिन्छ तर कतिपय अवस्थामा कर कार्यालय जानैपर्ने प्रावधान कायमै छन् ।

त्यस्तो अवस्थालाई पनि कम गर्दै कार्यालय उपस्थित हुनै नपर्ने परिस्थिति बनाउने आन्तरिक राजस्व कार्यालयको दीर्घकालीन नीति रहेको छ । पछिल्लो समय भएका केही सुधारले ‘फेसलेस’ कर प्रणालीलाई सहयोग पु¥याएको देखिन्छ ।

अनलाइनबाटै दर्ता
आन्तरिक राजस्व विभागले आफ्नो आधिकारिक वेबसाइटमार्फत अहिले करदाताले अनलाइनबाटै व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिन सक्ने सुविधा उपलब्ध गराइरहेको छ । सरकारले सार्वजनिक गरेको नागरिक एप्समार्फत पनि यो सुविधा लिन सक्ने अवस्था बनेको छ । यसबाहेक अनलाइनबाटै कर विवरण बुझाउने र अद्यावधिक गर्ने, आय विवरण बुझाउने र म्याद थपको विवरण लिने, करदाता स्वयंले युजर आईडी र पासवर्ड सिर्जना गर्नसक्ने र आफ्नो विवरण आफैँ अद्यावधिक गर्न सक्नेलगायतका सुविधा पनि उपलब्ध छ ।

 अनलाइनबाटै भुक्तानी
व्यक्तिगत करदाताका लागि अहिलेको सबैभन्दा सुविधाजनक सेवा हो अनलाइन भुक्तानी । भुक्तान गर्नुपर्ने करको यकिन गरेर घरबाटै अनलाइनमार्फत जुनसुकै समयमा कर तिर्न पाउने सुविधाले कार्यालय जानैपर्ने अनि भुक्तानीका लागि लाइन बस्नुपर्ने बाध्यता अन्त्य भएको छ । सुरक्षित कारोबारको सुविधा पनि यसले उपलब्ध गराएको छ ।

पछिल्लो समय आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालय मात्र होइन, विभिन्न प्रकृतिका सरकारी कार्यालयको भुक्तानी पनि अनलाइनबाटै गर्न सकिने सुविधाले करदातालाई धेरै सहज बनाएको छ । चल्तीका भुक्तानी सेवा प्रदायकहरूमार्फत सजिलै कर तिर्न सकिने सुविधाले कर कार्यालय व्यवस्थापन पनि सजिलो बनेको छ ।

पछिल्लो समय नयाँ सरकारी कार्यालय पनि बिस्तारै थपिँदै गएपछि त्यसको प्रत्यक्ष लाभ करदातालाई भएको छ । यातायात कार्यालय, ट्राफिक कार्यालय, राहदानी, मालपोत, विद्युत्, वैदेशिक रोजगार कार्यालय लगायतका कार्यालयमा पनि अनलाइनबाटै भुक्तानी गर्न सकिने भएपछि नगद बोकेर जाँदाको असुरक्षा यसले घटाएको छ । स्थानीय तहहरू पनि अनलाइन भुक्तानी प्रणालीमा अगाडि देखिएका छन् । यसले स्थानीय तहका नागरिकलाई समेत डिजिटल भुक्तानीमा आबद्ध गराएको छ ।

 घट्दै छ लागत
‘फेसलेस’ कर प्रणालीको प्रत्यक्ष फाइदा कर सङ्कलन लागतमा समेत पुग्ने देखिन्छ । फेसलेसको अवधारणामार्फत कर कार्यालयको संरचना, जनशक्ति व्यवस्थापनजस्ता क्षेत्रमा हुने अतिरिक्त खर्च घट्दा त्यसले लागत सङ्कलन पनि घटाउँदै लगेको देखिन्छ । कर लागत बढ्दा राज्यलाई प्राप्त हुने लाभ कम हुने भएकाले लागत सङ्कलन घटाउन पनि फेसलेस कर प्रणाली प्रभावकारी उपयोगी हुन्छ ।

आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा एक हजार रुपियाँ कर सङ्कलन गर्दा आन्तरिक राजस्व विभागको खर्च पाँच रुपियाँ ८८ पैसा हुन्थ्यो । त्यसपछि आव २०७४/०७५ मा प्रतिहजार लागत पाँच रुपियाँ २० पैसा रहेकामा लगत्तै आव २०७५र७६ मा चार रुपियाँ २१ पैसामा झ¥यो । अझ आव २०७६/०७७ मा यस्तो खर्च प्रतिहजार राजस्व सङ्कलनमा तीन रुपियाँ ६२ पैसा मात्र पुगेको छ । यसको अर्थ कर सङ्कलन गर्दा राज्यलाई जोगिने रकम बढ्ने क्रममा छ ।
डिजिटल प्रविधिसहित केही आन्तरिक सुधारका कामले लागत घटेको विभागले जनाएको छ । लागत घट्दा राज्यको राजस्वको आकार बढ्छ । कोरोना सङ्क्रमणका कारण लागू गरिएको बन्दाबन्दीका बीचमा पनि विभागले कर प्रक्रियाका धेरै पक्षलाई अनलाइनमै उपलब्ध गराएर करदातालाई कार्यालयसम्म धाउनुपर्ने अवस्था अन्त्य गरेको थियो । आजको गोरखापत्र दैनिकबाट

himalayan life insurance
igi long