citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

क्षतिग्रस्त नौतले दरबारको पुनर्निर्माण ठप्प

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

क्षतिग्रस्त नौतले दरबारको पुनर्निर्माण ठप्प
काठमाडौँ । कोभिड–१९ को महामारीका कारण स्वदेश फर्केका चिनियाँ प्राविधिक टोली नेपाल नफर्कंदा काठमाडौँको वसन्तपुर क्षेत्रको नौतले दरबारको पुनर्निर्माण ठप्प भएको छ ।

अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम करिब डेढ वर्षदेखि स्थगित छ ।
हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख सन्दीप खनालले दरबार पुनर्निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीका प्राविधिक र कामदार नेपाल नफर्कंदा बाँकी काम अगाडि बढ्न नसकेको बताउनुभयो ।

पुनर्निर्माणको जिम्मा ‘चाइनिज एकेडमी अफ कल्चरल हेरिटेज’ले पाएको छ । उहाँले भन्नुभयो, ‘‘२०७६ चैत ११ गतेदेखि सुरु भएको बन्दाबन्दीभन्दा पहिला नै चिनियाँ प्राविधिक टोली स्वदेश फर्केका हुन् । त्यसपछि उहाँहरू नेपाल आउनु भएको छैन ।’’ सो दरबार २०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त भएको थियो ।

खनालले भन्नुभयो, ‘‘निर्माणको जिम्मा पाएका चिनियाँ कम्पनीसँग हामी नियमित सम्पर्कमा छौँ । नेपालमा कोभिडको महामारी सामान्य भएपछि नेपाल आएर बाँकी काम पूरा गर्ने चिनियाँ पक्षले बारम्बार प्रतिबद्धता गरिरहेको छ ।’’ चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा पुनर्निर्माण भइरहेको सो दरबार निर्माणको समयावधि २०७९ को कात्तिक (सन् २०२२ को नोभेम्बर) सम्म रहेको छ ।

‘‘पुनर्निर्माण गर्नुपर्ने भवनहरूको निर्माण सम्पन्न भइसकेको छ । गजुर र घन्ट राख्नेलगायत भित्रको फिनिसिङको काममात्र बाँकी छ । चिनियाँ प्राविधिक टोली नआएसम्म काम अगाडि बढाउने अवस्था छैन,’’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार, चिनियाँ प्राविधिक टोली र कामदार आएर काम सुरु गरेपछि बढीमा छ महिनाभित्र सम्पूर्ण काम सकिन्छ । गत आर्थिक वर्षभित्रै पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा कोभिडको महामारी र बन्दाबन्दीका कारण सो लक्ष्य हासिल हुन नसकेको उहाँले स्पष्ट गर्नुभयो ।

वसन्तपुरको नौतले दरबारमा फलामे डन्डीको खट बाँधी चर्किएको गारोलाई सबलीकरण गर्ने र माथिल्लो भागलाई पुनर्निर्माण गरिँदै छ । दरबारको भित्तामा माटो, गोबर र भुसबाट निर्मित लिउन लगाउने र भत्किएको भाग पुरानै शैलीमा निर्माण गरिएको छ ।

काठमाडौँ उपत्यकामाथि विजय हासिल गरेपछि पृथ्वीनारायण शाहले उपत्यकाका तीनैवटा सहर देखिनेगरी सामरिक महìवका आधारमा निर्माण गरेको यो दरबारको पाँचौँ तलामाथिको सम्पूर्ण भाग भूकम्पमा भत्किएको थियो ।

त्यसबेला माटोको जोडाइमा बनाइएको भए पनि हाल चुना सुर्कीबाट निर्मित वज्रको जोडाइमा पुनर्निर्माण गरिँदै छ । निर्माणसामग्री लैजाने र भत्काइएका सामान ओराल्नका लागि समेत परम्परागत सामग्री प्रयोग गरिएको छ ।

नौतले दरबारपरिसरमै रहेका ललितपुर, भक्तपुर र कीर्तिपुर नामका तीनवटा टावरमध्ये क्षति भएको भक्तपुर र ललितपुर टावरको पुनर्निर्माण भइरहेको छ ।

विक्रम संवत् १८२६ देखि १८३० सम्म पृथ्वीनारायण शाह र उनका छोरा प्रतापसिंह शाहले नौतले दरबारको निर्माण गर्न लगाउनुभएको थियो । वसन्तपुरको सो ठाउँमा मल्लकालदेखि नै दरबार रहेको छ ।

चिनियाँ येन १० करोडमा सो दरबारको पुनर्निर्माण भइरहेको हो । सो दरबारको पुनर्निर्माणका लागि पाँच वर्षभित्र सम्पन्न गर्नेगरी २०७३ असोज १३ गते नेपाल र चीनबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो ।

उक्त समझदारीपत्रमा नेपालका तर्फबाट पुरात्तत्व विभागका तत्कालीन महानिर्देशक भेषनारायण दाहाल र चीनका तर्फबाट एजेन्सी फर इन्टरनेसनल इकोनोमिक को–अपरेसन अफ चाइनाका प्रमुख पेङ वेईले हस्ताक्षर गर्नुभएको थियो । पुरात्तत्व विभाग र चिनियाँ प्राविधिकको संयुक्त टोलीले उक्त दरबारको पुनर्निर्माणको डिजाइन गरेको थियो । आजको गोरखापत्र दैनिकबाट

himalayan life insurance
igi long