एमालेमा ५५ जना केन्द्रीय सदस्य थपिने
काठमाडौं । नेकपा (एमाले) ले पार्टी विभाजनपछि रिक्त रहेका ५५ केन्द्रीय सदस्यको मनोनयन तत्कालीन वरिष्ठ नेता माधव नेपाल खेमाका नेताहरू मध्येबाटै छान्ने तयारी भएको छ ।
२०७५ जेठ २ गते अघिको नेकपा (एमाले) को २०३ सदस्यीय केन्द्रीय कमिटीमध्ये ५५ जनाले नेकपा (एकीकृत समाजवादी) का तर्फ सनाखत गरेपछि एमालेमा हाल ती पद रिक्त रहन गएको छ।
रिक्त पदपूर्ति गर्दा तत्कालीन नेपाल खेमाको विचार समूहमा रहेका तर हाल एमालेतर्फ खुलेका नेताहरूमध्येबाटै चयन गरिने एमालेले स्रोतले जनाएको छ।
रिक्त ५५ जना केन्द्रीय सदस्यको सिफारिस भने नेपाल समूह छोडेर अन्तिम समयमा एमालेमा समाहित भएका १० स्थायी कमिटी सदस्यहरूले तय गर्ने छन्।
५५ सदस्य सिफारिस गर्ने जिम्मेवारी भने उपाध्यक्ष भीम बहादुर रावल र स्थायी कमिटी सदस्य सुरेन्द्र प्रसाद पाण्डेले पाउने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा नेपाल समूहमा आवद्ध भएका तर हाल एमालेतर्फ खुलेका मध्येबाटै रिक्त पदपूर्ति गर्ने भन्दै रावल र पाण्डेलाई सदस्य सिफारिसको जिम्मा दिन लागेका छन्।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार रिक्त सदस्य र १० बुँदे सहमति अनुसार केन्द्रीय कमिटीमा मनोनयन गरिने १० प्रतिशत सदस्यको टुंगो विधान अधिवेशन अघि नै लगाइने भएको छ।
उनका अनुसार विधान अधिवेशन अघि पार्टी छाडेका ५५ जना र मनोनयन गर्नु पर्ने २० जना गरी ७५ जना सदस्यलाई विधान अधिवेशन अगावै केन्द्रीय कमिटीमा मनोनयन गर्ने तयारी छ। केन्द्रीय सदस्यमा कसलाई लैजाने भन्ने विषयमा छलफलमा हुँदैछ चाँडै केन्द्रीय कमिटीले पूर्णता पाउँछ।
नेकपा ९एमाले० विभाजन भएसँगै दुबै पार्टीका नेताहरू एकले अर्को पार्टीका नेता तानेर केन्द्रीय कमिटीमा मनोनयन गर्ने प्रतिस्पर्धामा उत्रिएका छन्।
नेकपा (एस) ले पनि चाँडै केन्द्रीय कमिटीलाई पूर्णता दिने भन्दै सम्भव भएसम्म एमालेमा आवद्ध नेताहरूलाई तानेर केन्द्रीय सदस्य बनाउने प्रयास थालेको छ तर सम्भव हुने देखिदैन ।
एमालेले पनि केन्द्रीय सदस्य नभएका तर पार्टीभित्र राम्रो प्रभाव राख्ने, हाल नेकपा ९एस० मा खुलेका नेताहरूलाई केन्द्रीय सदस्यको अफर गरिरहेको छ ।
नेकपा (एस) का नेता बेदुराम भुसालले केन्द्रीय कमिटीले राष्ट्रिय भेलाबाट पूर्णता पाउने बताएका छन। अधिकांश एमालेका नेताहरू भेलाबाट आफ्नो पार्टीमा समाहित हुने उनको दाबी छ। ‘एमालेका धेरै साथीहरू हामीसँग आउँदै हुनुहुन्छ, उहाँहरू केन्द्रीय कमिटीमा अटाउने ‘हेभीवेट’का हुनुहुन्छ,’ भुसालले दावी गर्दै भनेका छन्।























