stcnepal long ad
global ime bank long

सहज छैन बैङ्किङ सेवा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ  । कोभिड सङ्क्रमणको त्रास घट्दै अन्य उद्यम–व्यवसाय सहज हुन थाले पनि वाणिज्य बैङ्कहरूले प्रदान गर्ने सेवा सहज हुन सकेको छैन । धेरै बैङ्कमा गेटबाहिर नै सेवाग्राही लाम लागेर पालो कुर्न बाध्य छन् भने कतिपयमा बैङ्कहरूले प्रदान गर्ने प्राविधिक सेवा पनि ढिलो गरी दिइने पाइन्छ ।

पाटन मङ्गलबजारका सुमन अवालेले आफू १० हजार रुपियाँको चेक बोकेर बैङ्क जाँदा बैङ्क बाहिरै सडकसम्म रहेको लाइनमा डेढ घण्टा कुरेको बताउनुभयो । अवालले भन्नुभयो, “सडकदेखि बजारसम्म हेर्दा त अवस्था सामान्य भएजस्तो लागेको थियो तर बैङ्कमा त अझै पनि कोरोनाको लकडाउन र निषेधाज्ञा रहेछ । ”

आफ्नै पैसा निकाल्न र जम्मा गर्न बैङ्क जाँदा पनि केही बैङ्कले पैसा सापटी माग्न गएको जस्तो व्यवहार गरेको आरोप उहाँले लगाउनुभयो । कोरोनाबाट बच्न आवश्यक सावधानीका उपाय अवलम्बन गर्दै सम्मानजनक सेवा प्रवाह हुनुपर्नेमा जोड दिँदै उहाँले सवारी साधनको जोरबिजोर प्रणाली पनि हटाइएको अवस्थामा केही बैङ्कले कोरोनाकै त्रास देखाएर ग्राहकलाई अनावश्यक दुःख दिइरहेको दाबी गर्नुभयो ।

धेरैजसो बैङ्कमा सेनिटाइजर र अन्य सुरक्षाका उपाय अवलम्बन गरेर भित्र जान मिल्छ तर कतिपयमा मूल ढोकाको अघिल्तिर पनि उभिन पाइँदैन ।

नेपाल बैङ्कर्स एसोसिएसनका कार्यकारी निर्देशक अनिल शर्मा बैङ्कहरूमा पछिल्लो समय अपनाइएको व्यवस्था के कारणले गर्दा भन्ने सबैले विचार गर्नुपर्ने बताउनुहुन्छ ।

“भीडभाड नगर्ने र २५ जनाभन्दा बढी भेला नगर्ने नीति छँदै छ । कोरोनाको सङ्क्रमणको जोखिम पनि अझै नहटेको हुँदा ग्राहककै सुरक्षाका लागि यो सबै गरिएको हो,” उहाँले भन्नुभयो ।

उहाँले कतिपय बैङ्कका शाखामा सीमित ठाउँ हुने भएकाले भित्र भीडभाड गर्न नमिल्ने भएका कारण सडकको पेटीबाट अफिस सुरु हुने स्वीकार गर्नुभयो ।
१० जना अट्ने ठाउँ मात्रै भएका बैङ्कका शाखा पनि रहेको भन्दै उहाँले शाखा यस्तो हुनुपर्छ भन्ने मापदण्ड पनि नभएका कारण ग्राहकलाई असजिलो महसुस भएको हुन सक्ने बताउनु हुन्छ । कोरोना सङ्क्रमणको जोखिम अझै पनि समाप्त नभएका कारण बैङ्कहरूमा सजगता अपनाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

प्राविधिक सेवामा ढिलाइ
बैङ्कमा लिने सेवासँगै प्राविधिक सेवामा पनि समस्या रहेको छ । कतिपय बैङ्कमा एटीएम कार्ड बनाउँदा महिनौँ दिन लगाइदिने समस्या पनि छ । कीर्तिपुरका विकेश गुरागाईंले एनबी बैङ्कमा बनाउन दिएको एटीएम तीन सातासम्म नपाउँदा हैरानी बेहोरेको बताउनुभयो ।

सामान्यतः एटीएम कार्ड बनाउँदा कुनै बैङ्कले तुरुन्तै दिन्छन् भने कुनैले सातादेखि १० दिनमा दिन्छन् तर एनबी बैङ्कमा दिएको एटीएम तीन सातासम्म किन नबनेको भन्ने जिज्ञासामा बैङ्ककी जुनियर असिस्टेन्ट मञ्जरी पुडासैनीले बैङ्कको सबै एटीएम कार्ड सनराइज बैङ्कले छाप्ने हुँदा छाप्ने सङ्ख्या धेरै भएका कारण ढिलाइ भएको बताउनुभयो ।

विकट ठाउँमा ढिलाइ स्वाभाविक हुने भए पनि काठमाडौँमै त्यस्तो ढिलाइ हुन नपर्ने भनाइ सङ्घका कार्यकारी निर्देशक शर्माको छ ।

नेपाल राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल सेवा सम्बन्धी त्यस्ता कुरा गम्भीर भएको बताउनुहुन्छ । त्यस्तो विषय नियामकको हिसाबले गम्भीरतापूर्वक लिने भन्दै उहाँले उजुरी नै आएमा कारबाहीको प्रक्रिया अगाडि बढ्ने जनाउनुभयो ।

उपचार पनि छ
नीति निर्देशन विपरीत असहयोग, ढिलासुस्ती, बेवास्ता, निक्षेप सङ्कलन, कर्जा प्रवाह, कर्जा असुली लगायत अन्य वित्तीय मध्यस्थता सेवा प्रवाहमा गरिने विभेद तथा क्षति न्यूनीकरण गर्न राष्ट्र बैङ्कले तीन महिनाअघि नै पहल सुरु गरेको छ ।

राष्ट्र बैङ्कले जारी गरेको ‘वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि, २०७७’ मार्फत वित्तीय सेवा प्रदायकले आफूले प्रदान गर्ने सेवा सम्बन्धमा न्यूनतम मापदण्ड पूरा गरी वित्तीय ग्राहकलाई निष्पक्ष र समान वित्तीय मध्यस्थता सेवा प्रदान वा प्राप्त गर्न वा गराउन प्रोत्साहन गर्ने उद्देश्य लिइएको जनाइएको छ ।

वित्तीय ग्राहकलाई वित्तीय सेवा प्रदायकवाट नीति निर्देशन विपरीत निक्षेप सङ्कलन, कर्जा प्रवाह, कर्जा असुली लगायत अन्य वित्तीय मध्यस्थता सेवा प्रवाहमा गरिने विभेद तथा क्षतिलाई न्यूनीकरण गरिने कार्यविधिमा उल्लेख छ ।

वित्तीय कारोबार गर्ने ग्राहकको मनोबल उच्च राखी वित्तीय क्षेत्रप्रतिको विश्वास कायम राख्ने, वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापनका सम्बन्धमा राष्ट्र बैङ्कको क्षेत्राधिकार भित्र पर्ने कानुन, नीति, निर्देशन, कार्यविधि सम्बन्धमा गर्नुपर्ने सुधारका बारेमा गभर्नरलाई जानकारी गराउनुका साथै गुनासो सुनुवाइ प्रक्रियालाई सहज र पारदर्शी बनाउने उद्देश्य लिइएको कार्यविधिमा उल्लेख छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भेषराज बेल्बासेले लेखेका छन ।

 

IME Lifesidebar
kumari