कांग्रेसमा दौडधुपः पौडेल पक्ष मोर्चाबन्दीमा, सिटौला मिलाउँदै
Nepali Congress President Sher Bahadur Deuba and senior leader Ram Chandra Paudel attending a party's meeting in Nayabaneshwor, Kathmandu, on Tuesday, August 23, 2016. Photo: RSS
काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापन इतर मानिने वरिष्ठ नेता रामचन्द्र पौडेल समूह संस्थापन पक्षलाई गलाउने र कमजोर बनाउने रणनीति सहित अघि बढेको छ ।
कांग्रेसभित्रको संस्थापन इतर पक्ष मानिएको पौडेल पक्षका नेताहरू सभापति शेरबहादुर देउवा विरुद्ध मोर्चाबन्दीमा नै उत्रिएका छन् । उनीहरू विधान विपरीत पार्टीभित्र हरेक निर्णयमा मनोमानी गरेको भन्दै सभापति देउवालाई गलाउने रणनीति सहित अघि बढेका हुन् । सो समूहले आज सोमबार आफू पक्षीय केन्द्रीय सदस्यको हस्ताक्षर सहित पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र बुझाउँदै छ ।
तर, कांग्रेसभित्रको तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला भने पार्टीको आन्तरिक द्वन्द्वलाई बढाउने पक्षमा छैनन् । लामो समय गृह जिल्ला झापा बसेर फर्किएका सिटौलाले शनिबार राजधानी फर्किए लगत्तैबाट सभापति र वरिष्ठ नेता सहित पदाधिकारीसँगको भेटलाई अघि बढाएका छन् ।
सो क्रममा शनिबार नै सिटौलाले सभापति देउवालाई भेटेर महाधिवेशनबारे तत्काल निर्णय गर्न र प्रस्ट पार्न सभापतिलाई आग्रह गरेका छन् । यस्तै, आइतबार बिहान वरिष्ठ नेता पौडेललाई भेटेका सिटौलाले सभापति विरुद्धको मोर्चाबन्दीको प्रस्तावलाई भने अस्वीकार गरेका छन् ।
सिटौलाले सभापति विरुद्ध कुनै काम गर्नै परे आफ्नै समूहले गर्ने भन्दै अहिले महाधिवेशन प्रभावित हुनेगरी कतैबाट पनि गतिविधि हुन नहुने भन्दै पौडेलको प्रस्ताव अस्वीकार गरेको उनी निकट नेता बताउँछन् । भेटमा सिटौलाले पार्टीभित्रका बेथितिबारे केन्द्रीय समितिबाटै निकास खोज्न समेत पौडेललाई सुझाएका छन् ।, यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।
























