त्रिविको दीक्षान्त समारोहमा कर्मचारी सङ्घ सहभागी नहुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घ केन्द्रीय समितिले विगतमा भएका सम्झौता कार्यान्वयन नभए दीक्षान्त समारोहमा सहभागी नहुने जनाएको छ ।
त्रिवि कर्मचारी सङ्घले मंसिर १८ गते पदाधिकारी समक्ष त्रिविमा कार्यरत प्राविधिक, नर्सिङ्ग तथा प्रशासनिक कर्मचारीको पेशागत हक हितको पक्षमा ज्ञापनपत्र पेश गरेको थियो ।
सङ्घसँग विगतमा भएका सम्झौतालाई पूर्ण कार्यान्वयन र गुमेका सुविधाको यथावत प्राप्तिको सुनिश्चितताका लागि तीन दिन अर्थात् आजसम्म ठोस निर्णय नआए त्रिविका सम्पूर्ण निकायमा प्रशासनिक कार्य तथा शैक्षिक कार्यक्रम पूर्णरुपमा ठप्प पार्ने चेतावनी दिएको थियो ।
यससँगै त्रिविले पुस २ गते ४९ औं दीक्षान्त समारोह आयोजना गर्ने तयारी समेत प्रभावित पार्ने सङ्घले बताएको छ ।
सङ्घका अध्यक्ष छत्रबहादुर कार्कीले एक वर्ष अगाडि विश्वविद्यालयका पदाधिकारीसँग वार्ता, छलफल र भएका सम्झौताका केही बुँदा कार्यान्वयन भएको तर धेरै महत्वपूर्ण विषय कार्यान्वयन गर्न बाँकी रहेको बताउनुभयो ।
कार्कीले भन्नुभयो, “त्यसका लागि आलटाल गर्दै आएपछि पछ्याउँदै गयौं । यसको निर्णय नआएपछि हाम्रा जायज मागहरुको सम्बोधन गर्नुपर्छ भनेर तीन दिनको अल्टिमेटम दियौं ।
विगतमा त्रिवि सभाले एउटा निर्णय गरेको थियो खर्च कटौतीको विषयमा चाहिँ त्रिविभित्र काम गरिरहेका कर्मचारीको सेवा, सुविधालाई पुनरावलोकन गर्ने भनेर एउटा समिति बनेको थियो । त्यो समितिले गरेको सिफारिस अहिलेसम्म लागू गरिएको छैन ।”
सङ्घसँग भएका सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन गर्ने प्रयास नभए थप कार्यक्रम अगाडि बढाउने उहाँको भनाइ छ । उहाँले त्रिविका कर्मचारीले गएको साउनदेखि सेवा, सुविधा नपाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कर्मचारीको पङ्क्तिले गएको साउनदेखि सेवा, सुविधा नपाएका कर्मचारी त्यो दीक्षान्त समारोह सफल बनाउन कसरी उपस्थित हुन सक्छ रु भनेर हामीले व्यवस्थापनलाई प्रश्न गरेको हो ।”
यस पटकको दीक्षान्त समारोह अन्तर्राष्ट्रिय महत्वको रहेकाले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सन्देश दिन पनि सङ्घसँगको सम्झौता कार्यान्वयनमा जोड दिइनुपर्ने उहाँको भनाइ छ ।
सङ्घको यसखाले गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी) ले त्रिविको दीक्षान्त समारोह कार्यक्रम नबिथोल्न आग्रह गरेको छ ।
६४ वर्ष इतिहास बोकेको विश्वविद्यालय दिनप्रतिदिन कमजोर बन्दै गइरहेको भन्दै शैक्षिक कार्यक्रमहरु बन्द हुने अवस्थामा पुगेको उल्लेख गर्दै अखिल क्रान्तिकारी जिल्ला समिति कीर्तिपुरले सो आग्रह गरेको हो ।
विद्यार्थीले दुःख पसिना बगाएर कमाएको भविष्य निर्माण गर्ने औपचारिक प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रोक्ने तथा प्रमाणपत्रहरु वितरण गर्न बन्द गर्ने कुटील शब्दजालको समितिले विरोध गरेको छ ।