दसैंका खसीबोका र च्यांग्रा आजबाट काठमाडौं भित्रिने
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशका विभिन्न ठाउँबाट दसैंका लागि सहुलियत मूल्यमा बिक्री गर्न संकलन गरेको खसिबोका र च्यांग्रा सोमबार आजदेखि धमाधम काठमाडौं भित्रिने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपालिको दसैंमा २ हजार खसी, बोका र १ हजार च्यांग्रा खरिद गरी काठमाडांै ल्याएर बिक्री गर्ने लक्ष्य राखेको छ ।
विगतका वर्षमा झैं यसपालि पनि सहुलियत दरमा बिक्री गर्ने खसी, बोका र च्यांग्रा खरिद कार्य जारी राख्दै धमाधम विभिन्न ठाउँबाट काठमाडौं ल्याउँदै गरेको खाद्य कम्पनीले सोमबार साँझसम्म विभिन्न ठाउँबाट संकलन गरी काठमाडौं ल्याइएका खसीबोका र च्यांग्राको मूल्य निर्धारण गर्नेछ ।
हाल दाङ र वीरगन्ज संकलन केन्द्रमा विभिन्न ठाउँबाट खरिद गरिएका स्थानीय खसी, बोका र रसुवाबाट खरिद गरिएका च्यांग्रा सोमबार बिहानदेखि धमाधम काठमाडौं भित्रिन थाल्ने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी गराइन् ।
सोमबार बिहानदेखि खसीबोका र च्यांग्रा आउन सुरु गर्छन्, सम्भवतः कम्पनीले सोमबार दिउँसो मूल्य निर्धारण गरी मंगलबारदेखि बिक्री थाल्ने जानकारी गराउँदै सुवेदीले भनिन्, ‘संकलनस्थलमा तिरेको मूल्य त्यसमाथि ढुवानी खर्च तथा लागत र हालको बजार बुझेर नयाँ बिक्री मूल्य निर्धारण गरिनेछ ।’
काठमाडांै ल्याइएका खसीबोका र च्यांग्राको मूल्य निर्धारण भने बिक्री थाल्नुअघि तय हुने जानकारी गराउँदै उनले नयाँ भाउ तोकिएपछि बिक्री थालिने बताइन् ।
दसैंमा निजी क्षेत्रका व्यापारीले बिक्री गर्ने बजार भाउभन्दा केही सस्तोमा मूल्य तोकेर बजार नियन्त्रणको प्रयास गर्दै आएको खाद्य कम्पनीले सोमबार साँझसम्म खसीबोकाको बिक्री मूल्य निर्धारण गर्ने तयारी गरेको उनले बताइन् ।
यस वर्ष दाङ र वीरगन्जबाट २ हजारवटा खसीबोका र रसुवाबाट च्यांग्रा खरिद गरेर ल्याइँदै छ । दाङको तुलसीपुरबाट खरिद गरिएको खसीबोका सोमबार बिहानसम्म काठमाडौं आइपुग्ने सुवेदीले बताइन् ।
यसैगरी, वीरगन्ज संकलन केन्द्र र काठमाडांै आसपासका जिल्ला धादिङ र मकवानपुरबाट पनि खसी बोका खरिद गरी काठमाडौं ल्याउने तयारी भइरहेको उनले बताइन् ।
यस वर्ष रसुवाबाट सहकारीमार्फत खाद्य कम्पनीले १ हजार च्यांग्रा खरिद गर्दै छ । जिल्लास्थित सहकारीले संकलन गरिएका च्यांग्रा काठमाडौं पठाउने तयारी भएको कम्पनीले जनाएको छ ।
विभिन्न स्थानबाट खरिद गरी काठमाडौं ल्याइएका खसीबोका र च्यांग्रा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रदेशिक कार्यालय थापाथलीबाट धमाधम बिक्री गरिनेछ । खसी, बोका र च्यांग्राका लागि कम्पनीले ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
कोरोना महामारीपछि पहिलोपटक यस वर्ष कम्पनीले च्यांग्रा बिक्री गर्ने तयारी गरेको हो । । गत ९ असोजमा नै सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खरिद गरेर सर्वसाधारणलाई सहुलियत दरमा बिक्री गरिने खसी, बोका र च्यांग्रामा बाहिर बजारको भन्दा प्रतिकेजी न्यूनतम १० रुपैयाँ छुट दिने घोषणा गरेको थियो ।
सोही घोषणाअनुसार केही दिनअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाङको डिपोमा खसीबोका संकलन गर्न खरिद मूल्य निर्धारण गरेको थियो ।
दाङ र वीरगन्जलगायत डिपो तथा संकलन केन्द्रबाट खरिद गरेर दसैंका खसीबोका काठमाडौं ल्याउन अहिलेको बजार भाउअनुसार मूल्य निर्धारण गरिएको खाद्य कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार स्थानीय प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिको बैठकले खसीबोकाको मूल्य निर्धारण गरेको हो । दसैंका उपभोक्तालाई सहुलियत दरको खसीबोका काठमाडौं उपत्यका ल्याउन खाद्य कम्पनीले आफ्नो दाङस्थित डिपोमा जिउँदो खसीबोकाको मूल्य २५ केजीभन्दा माथिको प्रतिकेजी ५ सय ६२ रुपैयाँ मूल्य निर्धारण गरेको थियो ।
यसैगरी, २० देखि २५ केजीसम्मका खसिबोकाको मूल्य प्रतिकेजी ५ सय ४५ रुपैयाँ निर्धारण गरिएको थियो । त्यसैगरी, जिउँदो बोका १८ केजीभन्दा माथिको मूल्य प्रतिकेजी ५ सय ४२ रुपैयाँ निर्धारण गरिएको सो कम्पनीले जनाएको छ ।
वीरगन्जमा पनि यसैगरी खरिद मूल्य निर्धारण गरिएको थियो । त्यहाँ २५ केजीभन्दा तलको खसीबोकाको मूल्य ५ सय ८५ रुपैयाँ र २५ केजीमाथिको प्रतिकेजी ६ सय ५ रुपैयाँ निर्धारण गरिएको थियो । यसैगरी, रसुवामा संकलन गरिने २२ केजीमाथिका च्यांग्राको मूल्य प्रतिकेजी १२ सय ६० रुपैयाँ निर्धारण गरिएको थियो ।
सोही मूल्यअनुसार कम्पनीले संकलन स्थलमा खसी, बोका खरिद गर्न सुरु गरिएको जनाएको छ । दाङ र वीरगन्ज संकलन केन्द्रमा आगामी २ कात्तिकसम्म खसीबोका खरिद गरेर काठमाडौं ल्याउने कम्पनीले बताएको छ ।
अहिले निजी क्षेत्रका व्यापारीले पनि धमाधम देशका विभिन्न भागबाट खसीबोका काठमाडौं ल्याउन सुरु गरिसकेका छन् । खाद्य कम्पनीको भन्दा निजी व्यापारीले बढी मूल्यमा खसिबोका बिक्री गर्दै आएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।