अमेरिकामा एकै दिन ७४३ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु

आर्थिक सञ्जाल
वासिङ्टन । संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिन कोरोना भाइरसको सङ्क्रमणबाट ७४३ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र एक लाख छ हजारको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । भाइरस फैलिन थाले यता अमेरिकामा १८ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् ।
विश्वमै कोरोना सङ्क्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ । अमेरिकामा विभिन्न राज्यले कोरोनाभाइरसको प्रसार रोक्न सावधानीपूर्वक यसअघि घरभित्रै बस्न दिइएको आदेशलाई खुकुलो बनाउन थालेका छन् । तर अमेरिकाको राजधानी वासिङ्टन डिसी समेतका धेरैजसो प्रमुख शहरहरुमा एक अश्वेत नागरिकको मृत्युलाई लिएर भड्किएको हिंसाका कारण निषेधाज्ञा लगाइएको छ ।
मानिसहरु ती निषेधाज्ञालाई बेवास्ता गर्दै सडकमा खुलेआम निस्केपछि कोरोनाको सङ्क्रमण बढ्ने खतरा बढेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।