विदेशबाट आएकालाई नि:शुल्क सीमकार्ड, दैनिक १ सय ७५ रुपैयाँ दिइने

आर्थिक सञ्जाल
काठमाडौं । सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धारका लागि आवश्यक काम अन्तिम चरणमा पुगेका जनाएको छ । ‘नेपाल आउने नागरिकलाई ल्याउने सम्बन्धी आदेश-२०७७’ अनुसार कार्यदेश बनाएर सरकारले ल्याउन तयारी थालेको हो ।
कर्यविधि अनुसार स्थलमार्ग हुँदै भारतबाट आएका तथा हवाई मार्गबाट ल्याइएका नेपालीलाई १४ दिनसम्म क्वारेन्टिनमा राख्ने भएको छ । हवाई मार्ग हुँदै विदेशबाट आएका मानिसको ‘कन्ट्याक ट्रेसिङ’सहज बनाउन सरकारले नै निःशुल्क सीमकार्ड उपलब्ध गराउने निणर्य पनि बैठकले गरेको छ ।
निशुल्क सीमकार्ड व्यवस्था गर्न नेपाल टेलिकमसँग समन्वय थालेको छ । यसबाट उनीहरुको निगरानी गर्न सजिलो हुने जनाईएको छ ।
यसरी उपलब्ध गराइएको सीमकार्ड कम्तिमा ६० दिनसम्म प्रयोग गर्नुपर्नेछ । कसैले पनि यो सीमकार्ड प्रयोग गरिएका मोबाइल ‘अफ’गर्न पाइने छैन ।
त्यस्तै दैनिक प्रतिव्यक्ति १ सय ७५ रुपैयाँका दरले भुक्तानी गर्ने भएको छ । तर, यो रकम क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई नभएर क्वारेन्टाइन राखिएको पालिकालाई दिइनेछ । यसले क्वारेन्टाइन व्यवस्थित बनाउन मद्दत पुग्ने सरकारको ठहर छ ।
भारत र तेस्रो मुलुकबाट आउने मानिसलाई ‘होल्डिङ सेन्टर’मा राखेर स्वास्थ्य परीक्षण गर्ने र ७ प्रदेशका ७ लाइनमा विभाजन गरेर स्थायी ठेगानाअनुसार सरकारले उपलब्ध गराएको सवारीमा उनीहरु सम्बन्धित गाउँ तथा नगरपालिकाको क्वारेन्टाइन जानु पर्ने व्यवस्था मिलाइएको छ ।
जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले भारत र तेस्रो मुलुकबाट आउने मानिसलाई स्वदेश भित्रेयाउने सम्बन्धि ‘कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७’जारी गरिसकेको छ ।