चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण
आर्थिक सञ्जाल
काठमाडौं । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चन्द्रागिरी नगरपालिकाले महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल बिहीबार आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरेको छ ।
चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवाली मार्फत ४ लाख ७१ हजार ८ सय रुपैयाँ मूल्य बराबरको यामाहा कम्पनीका २ थान मोटरसाइकल महानगरीय प्रहरी वृत्त थानकोटलाई हस्तान्तरण गर्नुभएको हो ।
प्रहरी बरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले समुदाय तथा स्थानीय निकायले प्रहरीलाई निश्वार्थ प्रदान गरेका श्रोतसाधनको उपयोग गरी समाजको शान्ति सुव्यवस्था, अपराध अनुसन्धान तथा नियन्त्रणमा थप प्रभावकारिता हासिल गरी समुदायलाई थप सुरक्षाको प्रत्याभूति दिलाउन मद्दत पुर्याउने बताउनुभयो ।
नेपाल प्रहरीको तर्फबाट कुनै पक्षपात नगरी निष्पक्ष रुपमा सांगठनिक निर्देशन बमोजिम कार्य गर्न वृत्तमा कार्यरत प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन समेत दिनुभयो ।
चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले सो नगरपालिकामा शान्ति सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रण कार्यमा थप मद्धत पुर्याउने उद्देश्य अनुरुप महानगरीय प्रहरी वृत्त थानकोटलाई उक्त मोटरसाइकलहरु प्रदान गरिएको बताउनुभयो ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले प्राप्त मोटरसाइकलहरु नगरक्षेत्रमा प्रहरी सेवा तथा प्रहरी पहुँच यथाशीघ्र पुर्याउनको लागि Quick Response Team (Q.R.T.) को रुपमा परिचालन गरिने जानकारी गराउनुभयो ।
चन्द्रागिरी नगरपालिकाका उपप्रमुख लिसा नकर्मी, उक्त नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जन, स्थानीय जनप्रतिनिधि, प्रहरी कर्मचारी एवं संचारकर्मीहरूको समेत उपस्थितिमा रहेको थियो ।





























