जय बहादुर घले नगद १ लाख रुपैयाँ ठगी अभियोगमा पक्राउ

आर्थिक सञ्जाल २०७७ जेठ ८ गते बिहीबार
ललितपुर । नगद ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-१३ कुसुन्ती बस्ने मकवानपुर राक्सिराङ गाउँपालिका-४ घर भएका ३९ वर्षीय जय बहादुर घलेलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरमहानगरपालिका-५ लगनखेलस्थित बा.६९ प १४०२ नम्बरको स्कुटरमा आएका घलेले जेठ २ गते बिहान पाटन अस्पतालमा छोराको उपचार गर्न आएका सोलुखुम्बु माता दुधकोशी गाउँपालिकाका एक व्यक्तिलाई पूर्व चिनजान रहेको बिश्वास दिलाई तपाईसँग कति रकम छ छोराको उपचारमा अपुग रकम बैंकबाट निकालेर सहयोग दिन्छु भन्दै ती व्यक्तिलाई स्कुटरमा राखेर बिभिन्न बैंकहरुमा घुमाई अन्तत निजसँग रहेको नगद १लाख रुपैयाँ ठगी गरी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घलेको डेरा कोठाबाट प्रहरीले नगद ५३ हजार रुपैयाँ र घटनामा प्रयोग भएको स्कुटर बरामद गरेको छ ।
घले उपर ठगी सम्बन्धी मुद्धामा जिल्ला अदालतललितपुरबाट दिन ५ को म्याद थप भई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।