citizens life insurance long ad
stcnepal long ad

चीनबाट आइपुग्यो पहिलो चरणको स्वास्थ्य सामग्री

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ४ गते आइतबार

काठमाडौं । कोरोना भाइरसको महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि नेपाली सेनाको संयोजनमा चीनबाट खरिद गरिएको पहिलो चरणको स्वास्थ्य सामग्री काठमाडौँ भित्रिएको छ।

चीनको होङजुबाट स्वास्थ्य सामग्री लिएर हिँडेका १० कन्टेनर चीनको खासा र नेपालको तातोपानी हुँदै काठमाडौँ आइपुगेका हुन्। ती सामग्री त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित सेनाको १४ बाहिनीमा सङ्कलन गरिएको छ।

सरकार-सरकारबीच भएको खरिद सम्झौताअनुसार चीनबाट कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि ३४३ टन स्वास्थ्य सामग्री नेपाल ल्याइनेछ।  पहिलो चरणमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री पिपिईलगायत एक एक हजार १८० क्युबी स्वास्थ्य सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

खरिद गरिएकामध्ये नेपाल वायुसेवा निगमको जहाजमार्फत ४७.५ टन सामग्री केही दिनभित्रै नेपाल ल्याइनेछ। त्यसका लागि निगमको जहाज सोमबार चीनको ग्वाञ्जाओ जाँदैछ। अरु सम्पूर्ण स्वास्थ्य सामग्री सडक मार्गबाट भएर ल्याइनेछ।

नेपालले चीनसँग कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक उपकरण, पिपिईलगायत ७३ प्रकारका सामग्री खरिद गर्ने सम्झौता गरेको थियो।

खरिद गरिएका बाँकी सामग्री बोकेका केन्टेनर हाङ्गुबाट गत वैशाख २४, २६ र २८ गते नेपालतर्फ प्रस्थान गरिसकेका छन्। ती कन्टेनरलाई नेपाल आइपुग्न १० देखि १२ दिन लाग्नेछ।

नेपाली सेनाले कोभिड १९ को जोखिम न्यूनीकरण र रोकथामका लागि क्वारेन्टाइन र अस्पतालसमेत निर्माण गरिरहेको छ। मुलुकको आवश्यकता र कोभिड १९ ले निम्त्याएको सङ्क्रमण रोकथाम एवं नियन्त्रण गर्ने सन्दर्भमा सेनाले मास्क, सेनिटाइजर र पिपिइको उत्पादनसमेत गर्दै आएको छ।

सरकारले सम्भावित कोरोनाको सङ्क्रमण जोखिमको मूल्याङ्कन गरी समयमै ‘बन्दाबन्दी’ घोषणा गरेका कारण नेपालमा हालसम्म २७८ जनामा कोरोनाबाट सङ्क्रमित भए पनि हालसम्म कुनै मानवीय क्षति भने भएको छैन। हालसम्मको अध्ययन र अनुसन्धानबाट सामाजिक दूरी कायम गर्नु नै सङ्क्रमणबाट जोगिने उत्तम उपाय मानिएको छ। रासस

IME Life
kumari