लकडाउनमा कडाइ : भित्रि गल्लीमा हिँड्नेलाई पनि पक्राउ गरिने

आर्थिक सञ्जाल २०७७ जेठ ३ गते शनिबार
काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या थपिन थालेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लकडाउनमा थप कडाइ गरेको छ । प्रशासनले अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने भएको हो ।
जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गर्ने निर्णय गरेको हो । प्रशासनले यसअघि जारी भएका सबै पास समेत खारेज भएको जनाएको छ । अब जारी हुने पास नीलो रङको हुने बताइएको छ ।
प्रशासनले अत्यावश्यक सवारी साधनलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र मात्र हिंड्न दिने भएको छ । एम्बुलेन्स, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्री, पेट्रोलियम पदार्थ, ग्यास, सबै खाद्य वस्तु, तरकारी तथा फलफूल लगायतका सामग्री बोकेका गाडीलाई भने बिना पास नै आवागमन गर्न दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।