डिजेलमा पानी मिसाउने फ्युल सेन्टरलाई दुई लाख जरिवाना

आर्थिक सञ्जाल २०७७ जेठ २ गते शुक्रबार
भक्तपुर । मध्यपुरथिमि नगरपालिका १, लोकन्थलीमा रहेको सिद्धार्थ फ्युल सेन्टरलाई दुई लाख रुपैयाँ जरिबाना गरिएको छ ।
गएको वैशाख १८ गते पम्पले उपभोक्तालाई पानी मिसिएको डिजेल बिक्री गरेको गुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागका कर्मचारीले संयुक्त रूपमा अनुगमन गरी पम्प बन्द गरेका थिए ।
गुणस्तर विभागमा पठाइएको नमुना परीक्षणमा पानी मिसिएको भेटिएपछि उक्त सेन्टरलाई बिहीबार उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही स्वरुप दुई लाख रुपैयाँ जरिबाना गरिएको विभागका अनुगमन निरीक्षक दीपकराज पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार विभाग र आयल निगमले उक्त सेन्टरलाई छुट्टाछुट्टै कारबाही गर्नेछन् ।