जबरजस्ती करणीमा संलग्न २९ फरार
धनगढी । मुलुकी अपराध संहिता ऐन–२०६४ ले जबरजस्ती करणीसम्बन्धी कसुरको व्यवस्था गरेको छ । ऐनअनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरीबिना करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई करणी गरेमा त्यस्ता महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने उल्लेख छ ।
तर, सुदूरपश्चिम प्रदेशभित्र भने यस्ता घटना भई नै रहेका छन् । यौनहिंसाको ग्राफ सुदूरपश्चिम प्रदेशभित्र बर्सेनि बढ्दै गएको प्रहरीकै अभिलेख छ । जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका सबैभन्दा बढी घटना कञ्चनपुरमा भइरहेको तथ्यांक छ । जिल्लाभित्र यस्ता घटनामा संलग्न २५ जना अझै फरार छन् ।
फरार प्रतिवादी पक्राउ गर्न नसक्नु प्रहरीकै कमजोरी भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का सुदूपश्चिम संयोजक खडकराज जोशी बताउँछन् । ‘महिलामाथि हुने यौनहिंसा बढ्दै गएको हाम्रो अध्ययन अनुगमनले पनि देखाएको छ ।
प्रहरीले चाहने हो भने यस्ता घटनामा संलग्नलाई सहजै रूपमा कानुनी दायरामा ल्याउन सक्छ, तर प्रहरी सक्रियता घट्दै गएको देखिन्छ,’ उनले भने ।
वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा समेत पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैदको व्यवस्था छ । अन्यको हकमा ७ देखि १० वर्ष कैद सजाय तथा क्षतिपूर्तिको व्यवस्था समेत छ ।
जबरजस्ती करणी अपराधका अधिकांश घटनामा आफन्त, अभिभावक तथा नातेदारको संलग्नता बढी हुने भएकाले हाडनाता करणीसम्बन्धी सजायमा थप कडाइको व्यवस्था गरिएको छ ।
ऐनमा भएको व्यवस्थाअनुसार यौन अपराधमा संलग्नमध्ये अधिकांश अहिले पनि फरार छन् । फरार प्रतिवादीको खोजी कार्य तीव्र पारिएको कञ्चनपुर प्रहरीले जनाएको छ । ‘
फरार प्रतिवादी पक्राउ गर्न सादा पोशाकका प्रहरीसमेत परिचालन हुँदैै आएको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्सपेक्टर लोकेन्द्र ठगुन्नाले भने, ‘कञ्चनपुर, डोटी र बाजुराबाट गरी जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगमा गरी २९ जना फरार छन् ।’आजको राजधानी दैनिकमा समाचार छ ।

























