sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

जोन्टा क्लब अफ काठमाडौँको लैङ्गिक हिंसा विरुद्ध वाकाथन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँँ  । जोन्टा क्लब अफ काठमाडौँले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि आफ्नो सक्रिय अभियानको रुपमा आज वाकाथन आयोजना गरेको छ ।

५०० भन्दा बढीको सहभागिता रहेको उक्त वाकाथन दरबारमार्गबाट शुरु भएर वसन्तपुर दरबार स्क्वायरमा पुगेर समापन भएको थियो । वाकाथनको अन्त्यमा लैङ्गिक हिंसा विरुद्धको सशक्त सन्देश बोकेको सडक नाटकको प्रदर्शन गरिएको थियो ।

यहि नोभेम्बर २५ तारिख देखि १० डिसेम्बर २०२२ सम्म संयुक्त राष्ट्र संघले मनाइरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई समर्थन गर्दै यस वाकाथन आयोजना गरिएको हो । संयुक्त राष्ट्र संघको यस वर्षको नारा “महिला र बालिकाहरु विरुद्ध हुने हिंसा अन्त्य गर्न एक होऔँं ” रहेको छ ।

जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष आभा शाहले भन्नुभयो, “१६ दिने अभियानले हामीलाई एकताबद्ध हुन र लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउने मञ्च दिन्छ । अहिले पनि लगभग हरेक सबै क्षेत्रका महिलाहरू दुर्व्यवहारको शिकार बन्न बाध्य भएका छन् ।

यी १६ दिनमा यस वाकाथन र अन्य कार्यक्रमहरू मार्फत हामी यस विषयमा सतर्कता सिर्जना गर्ने र घरेलु हिंसामा परेकाहरुलाई सहयोग गर्ने, लैङ्गिक हिंसा अन्त्य गर्ने लक्ष्यको साथ काम गर्ने र महिला अधिकारको लागि काम गरिरहेका सम्पूर्ण साथीहरु एकताबद्ध भएर काम गर्ने कुरामा जोड दिनेछौँ ।”

जोन्टा इन्टरनेशनल, डिस्ट्रिक्ट २५ का गभर्नर सृजना राणाले भन्नुभयो,“लैङ्गिक हिंसा एक गम्भीर मानवअधिकार उल्लङ्घन हो जसले महिलाको स्वास्थ्य र उत्पादनशील जीवन जिउने उनीहरुको क्षमतालाई असर गर्छ ।

यसले उनीहरुको काम गरेर आर्थिक रुपमा सबल हुने क्षमतालाई पनि असर गर्छ जसले गर्दा उनीहरुको परिवारलाई पनि असर गर्छ । प्रत्येक महिलालाई हिंसामुक्त जीवन जिउने अधिकार छ ।

यस वाकाथन मार्फत हामी, जोन्टा क्लब, सम्पूर्ण सञ्चार माध्यम र युवाहरूलाई लैङ्गिक हिंसाविरुद्ध प्रभावकारी रुपमा आफ्नो आवाज उठाउन आह्वान गर्दछौँ । ”

यो १६ दिनको अवधिभर जोन्टाले QFX सिनेमाहरुमा ४ शर्ट फिल्महरु पनि प्रदर्शन गर्दै छ । महिला र बालिकामाथि हुने हिंसा र दुव्र्यवहार कुनै पनि हालतमा सह्य नहुने र यसको विरुद्धमा आवाज उठाउनैपर्ने सन्देश बोकेका यी शर्ट फिल्महरु जोन्टाले नै निर्माण गरेको हो ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानकी अध्यक्ष विदुषी राणाले भन्नुभयो, “हामीलाई आशा छ यी शर्ट फिल्महरुले पीडितहरुलाई सुरक्षित रुपमा सहयोग लिनको लागि कुरा गर्न सकिने हेल्पलाइनहरुको बारेमा सुचना दिनेछ ।”

यसै पहल अन्तर्गत जोन्टाले काठमाडौं र आसपासका विद्यालय र सार्वजनिक स्थानहरूमा सडक नाटकहरूको प्रदर्शन गर्नुको साथै विभिन्न छलफलहरु पनि आयोजना गर्दैछ ।

वाकाथन भन्दा अगाडि जोन्टाले थुप्रै लोकप्रिय व्यक्तित्वहरु मार्फत पनि लैंगिक हिंसाविरुद्ध वकालत गर्न र सचेतना फैलाउन पहल गरेको थियो । यी क्लिपहरू सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेका छन् ।

कुमारी बैंक, जेजीआई फाउन्डेसन, लक्ष्मी बैंक, केटीएम सिटी, लिबर्ड, वेल्ट हङ्गर हचलाइफ, जर्मन कोअपरेसन र एकवा हन्ड्रेडको सहयोगमा वाकाथन आयोजना गरिएको हो ।

जोन्टा इन्टरनेशनल विश्वव्यापी रुपमा सेवा र वकालत मार्फत महिलाहरूलाई सशक्तिकरण गर्ने प्रोफेसनलहरुको अग्रणी विश्वव्यापी संगठन हो ।

सन् २०१२ मा काठमाडौंमा जोन्टा इन्टरनेशनलको भातृ संगठनको रुपमा स्थापना भएको जोन्टा क्लब अफ काठमाडौंले सेवा र वकालत मार्फत स्थानीय र राष्ट्रिय स्तरमा युवा र महिलाविरुद्ध हिंसा अन्त्य गर्नको लागि उनीहरुको आर्थिक, शैक्षिक र अन्य सम्बन्धित मुद्दाहरूमा काम गरिरहेको छ ।

prabhu bank
nawakantipur long